वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१६, शंकराचार्य गेट क्षेत्रमा सञ्चालन गरेको नियमित चेकिङ क्रममा लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ गरेको छ।
हिजो आइतबार बिहान ८:३० बजे प्रहरी टोलीले भारत–नेपाल सीमा क्षेत्रमा पैदल यात्री र सवारी साधनको जाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका व्यक्तिहरूलाई संका लागेर रोकेर कानुनी प्रक्रियाअनुसार खानतलासी गरेको थियो।
सो क्रममा ती व्यक्तिहरूले आफ्नो शरीरको पेट र छातीमा रातो प्लाष्टिकमा निलो डोरीले बेरी गाँजा लुकाइ राखेको फेला परेको थियो।
पक्राउ पर्नेहरूमा जाबेद अन्सारी (३९ वर्ष), रतनमाला–३, थाना बगहा; महमद रजिश (२४ वर्ष), बसवरिया धुनियापट्टी–२, थाना टाउन नगर; र महमद गरिब (२८ वर्ष), छाउनी–५, थाना टाउन नगर रहेका छन्।
बरामद गरिएको लागु औषधको मात्रा ७ केजी ६९२ ग्राम गाँजा जस्तो पदार्थ रहेको प्रहरी प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिएका छन्। प्रहरी यस सम्बन्धमा थप अनुसन्धान गर्दैछ।







