वीरगञ्ज । वीरगञ्जस्थित मधेश विश्वविद्यालय भित्रै कार्यरत एक कर्मचारीमाथि छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। विश्वविद्यालयलाई ‘शिक्षाको मन्दिर’ मानिने सन्दर्भमा यस्तो घटनाले शैक्षिक वातावरण र संस्थागत जिम्मेवारीमाथि प्रश्न उठाएको छ।
प्रहरीका अनुसार कर्मचारी राजु गद्दीले बी.ए.एल.एल.बी. प्रथम वर्षमा अध्ययनरत एक छात्रालाई प्रेम प्रस्ताव राख्दै अस्वीकार गरेमा परीक्षामा अंक घटाइदिने धम्की दिएका थिए। पीडित छात्रा (नाम परिवर्तन: रुबिना) ले दिएको उजुरीअनुसार, कलेजको स्वागत कार्यक्रमको दिनदेखि नै गद्दीले सहयोगको बहानामा नजिकिन थालेका थिए। कार्यक्रम स्थलसम्म पुर्याउने क्रममा उनले छात्राको व्यक्तिगत विवरण लिएका थिए र त्यसपछि फोन तथा ह्वाट्सएपमार्फत निरन्तर सम्पर्क राख्दै अनैतिक प्रस्ताव राख्न थालेका थिए।
पीडितले प्रस्ताव अस्वीकार गरी सम्पर्क बन्द गरेपछि गद्दीले आफ्नो पदको दुरुपयोग गर्दै दबाब सिर्जना गरेको आरोप छ। उनले “प्रस्ताव स्वीकार गरे छात्रवृत्तिमा पारिदिने र अस्वीकार गरे परीक्षामा मार्क्स घटाइदिने” भन्दै धम्की दिएको उजुरीमा उल्लेख छ। बारम्बारको मानसिक दबाब र करियरमाथिको जोखिमपछि छात्राले प्रशासनसमक्ष न्यायको माग गर्दै उजुरी दिएकी थिइन्।
घटनापछि चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सा मा उजुरी दर्ता भएलगत्तै अभियुक्त फरार भएका थिए। मोबाइल स्विच अफ गरी लुकिछिपी बसेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा को टोलीले खोजी गरी नियन्त्रणमा लिएको हो। प्रहरी प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र कानुनी प्रक्रिया अघि बढाइएको छ।






