Categories लेख

युद्ध र वातावरणीय संकट, मानवताको मौन विनाश

Advertisement

बीरगंज “यो धरती सबै जीव–प्राणीको साझा वास स्थल हो।” सबैले बुझ्नु पर्ने कुरा हो। तर सबै भन्दा विकसित मुलुकहरु, जो सित सबैभन्दा बढि ज्ञान, ध्यान, विज्ञान, सम्पन्नता एवं साधन श्रोत छन्, ति राष्ट्रहरु यस सत्य लाई किन आत्मसात गरिरहेका छैनन? देखावटी रुपमा विभिन्न शोध, खोज सभा सम्मेलन, अर्बौको खर्च आदि गर्ने गर्दछन् तर यसलाई व्यवहारमा किन उतार्न सकिराखेका छैनन्।

आजको विश्व २१औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि युद्धको छायाँ बाट मुक्त हुन सकेको छैन। प्रविधि, विज्ञान र कूटनीतिमा तीव्र प्रगति भए तापनि विभिन्न देशहरु बीचको द्वन्द्व अझै पनि जारी छ। विशेष गरी रुस युक्रेन , इजरायल हमास जस्ता युद्धहरुले विश्वलाई गहिरो मानवीय तथा वातावरणीय संकट तर्फ धकेलिरहेका छन्।

Advertisement

यी युद्धहरु केवल सैनिक वा राजनीतिक संघर्ष मात्र होइनन्, बरु पृथ्वीको प्राकृतिक सन्तुलनमा गम्भीर असर पार्ने घटनाहरु पनि हुन्।

Advertisement

कुनै पनि युद्ध अदृश्य विनाशको बढ्दो खतरा हुन
वर्तमान विश्वमा युद्ध केवल भू-राजनीतिक शक्ति संघर्षको विषय मात्र रहेन, यसले मानव जीवन सँगै पृथ्वीको समग्र वातावरणमा गहिरो र दीर्घकालीन असर पारिरहेको छ।
विशेषतः- रुस, युक्रेन तथा इजरायल–हमास युद्ध जस्ता समकालीन द्वन्द्वहरुले मानवता मात्र होइन, वातावरणीय सन्तुलन लाई समेत गम्भीर चुनौती दिएका छन्। युद्धका प्रत्यक्ष प्रभावहरु तत्काल देखिए पनि यसको वातावरणीय असर भने दीर्घकाल सम्म रहि रहने प्रकृतिको हुन्छ।

युद्ध कसले शुरु गर्यो, गल्ति कसको कसलाई फाईदा छ भन्नु भन्दा पनि वास्तवमा युद्ध बाट कसैलाई फाईदा हुँदैन।

लगभग ४ वर्ष बढी देखि रुस द्वारा युक्रेन माथि गरिएको सैन्य आक्रमणले युरोप क्षेत्रमा ठूलो अस्थिरता ल्यायो। यस युद्धको जरोमा सुरक्षा चिन्ता, भू-राजनीतिक प्रभाव विस्तार र नाटो (NATO) सँगको सम्बन्ध रहेका छन्। त्यस्तै, केही वर्ष अगाड़ी हमास ले इजरायल माथि गरेको आक्रमण पछि शुरु भएको इजरायल हमास युद्धले गाजा स्ट्रीप लाई केन्द्र बनाएर गम्भीर मानविय संकट सिर्जना गरेको छ।

उपरोक्त सबै खेलामा अमेरिकाको श्रीमान विश्व, सर्वोत्कृष्ट शक्ति राष्ट्र बन्ने चाहना छर्लगं छ, विभिन्न राष्ट्रहरुको आन्तरिक मामलामा हात, खुट्टा फसाएर उनिहरु लाई हैकम देखाएर आफ्नो स्वार्थ र फाइदा निकाल्ने अमेरिकी निति, रणनीति लाई नकार्न सकिन्न। इरान पनि त्रिकोणात्मक रुपमा उपस्थित देखिन्छ।

उपरोक्त युद्धहरुमा हजारौंको ज्यान गएको छ र लाखौँ मानिस विस्थापित एवं घाइते भएका छन्। विभिन्न अन्तर्राष्ट्रिय निकायहरुको अनुमानअनुसार, दुबै द्वन्द्वमा सर्वसाधारण नागरिकहरु नै सबै भन्दा बढी प्रभावित भएका छन्। अन्ततः दुख पाउने साधारण जनता नै हुन।

विभिन्न अध्ययनहरु अनुसार, युद्धका विभिन्न चरणहरूमा कार्बन उत्सर्जनको मात्रा फरक-फरक देखिन्छ।
केही प्रारम्भिक आक्रमणहरुमा करिब ५० लाख टन CO₂ उत्सर्जन भएको अनुमान गरिएको छ भने समग्र रुपमा यो मात्रा करोडौ टनसम्म पुग्न सक्ने देखिन्छ। धेरै क्षेत्रहरुमा मापन सम्भव हुँदैन, तथ्याङ्क गोप्य राखिन्छ त्यसैले सबै तथ्यांकहरु अनुमान आधारित हुन्छन्, यकिन होइन्।

आधुनिक युद्धहरु अत्यधिक ऊर्जा-निर्भर हुन्छन्। ट्यांक, आकाशमा लडाकु जेट विमान, युद्धपोत तथा मिसाइल क्षेप्यास्त्र प्रणालीहरु ले ठूलो मात्रामा जीवाश्म इन्धन खपत गर्दछन्।

यसका कारण कार्बन डाइअक्साइड (CO₂), नाइट्रोजन अक्साइड, सल्फर डाइअक्साइड लगायतका प्रदूषकहरु वायुमण्डलमा उत्सर्जित हुन्छन्। स्वतन्त्र अनुसन्धान समुहहरुको अनुमान अनुसार, रुस-युक्रेन युद्धले हालसम्म १०० मिलियन टन भन्दा बढी CO₂ उत्सर्जन गरिसकेको हुन सक्छ। यद्यपि, यस्ता तथ्यांकहरु पूर्ण रुपमा सटीक नहुन सक्छन्, किनकि युद्धकालीन तथ्यांक संकलन सीमित हुन्छ। तर पनि, यो स्तरको उत्सर्जनले जलवायु परिवर्तनमा उल्लेखनीय योगदान पुर्‍याउने निश्चित छ।

बम विस्फोट र भवन ध्वस्त हुँदा उत्पन्न हुने धुलो तथा सूक्ष्म कण (PM 2.5, PM10) ले स्थानीय वायु गुणस्तर अत्यन्तै खराब बनाउँछ, जसले श्वासप्रश्वास सम्बन्धी रोगहरु बढाउने जोखिम हुन्छ।

ध्वनि प्रदूषण र पारिस्थितिक असर
युद्धका क्रममा निरन्तर हुने विस्फोट, गोली बारी तथा लडाकु विमानहरु को आवाजले अत्याधिक ध्वनि प्रदूषण सिर्जना गर्छ। यसले मानिसहरुमा मानसिक तनाव, अनिद्रा, तथा दीर्घकालीन मनोवैज्ञानिक समस्या निम्त्याउन सक्छन्।
यसको प्रभाव वन्यजन्तुहरु तथा वोट, विरुवाहरुमा अझ गहिरो हुन्छ। ध्वनि प्रदूषणका कारण जनावरहरु आफ्नो प्राकृतिक व्यवहार परिवर्तन गर्न बाध्य हुन्छन्, जसले प्रजनन चक्र, आहार खोजी र बसाइ सराइमा असर पार्दछ।

पानी र माटोमा पर्ने असर पनि अनन्त हुन्छन
युद्धका क्रममा प्रयोग हुने विस्फोटक पदार्थ, रासायनिक अवशेष तथा इन्धन चुहावटले नदी, ताल तथा भूमिगत पानी श्रोतहरुमा प्रदूषण फैलाउँछ। उदाहरणका लागि, औद्योगिक संरचनाहरु ध्वस्त हुँदा त्यहाँ रहेका विषाक्त पदार्थहरु पानीमा मिसिने जोखिम उच्च हुन्छ। माटोमा यस्ता विषाक्त तत्वहरु जम्दा कृषि उत्पादनमा दीर्घकालीन गिरावट आउँछ। केही क्षेत्रमा त युद्ध समाप्त भएपछि पनि दशकौं सम्म भूमि उपयोग गर्न कठिन हुन्छ।

वन विनाश र जैविक विविधताको ह्रास
युद्धका कारण आगलागी, विस्फोट तथा सैन्य गतिविधिका कारण वन क्षेत्रहरुमा ठूलो क्षति पुग्छ। वन्यजन्तुहरु को बास स्थान नष्ट हुँदा जैविक विविधता घट्दै जान्छ। विशेषज्ञहरुका अनुसार, द्वन्द्वग्रस्त क्षेत्रमा संरक्षण गतिविधिहरु लगभग ठप्प हुने भएकाले दुर्लभ प्रजातिहरु झन् जोखिममा पर्छन्। यसले पारिस्थितिक प्रणालीमा दीर्घकालीन सन्तुलन बिगार्न सक्छ।

ऊर्जा खपत, श्रम शक्ति र आर्थिक प्रभाव
युद्ध सञ्चालनका लागि अत्यधिक इन्धन आवश्यक हुन्छ, जसले विश्वव्यापी ऊर्जा माग बढाउँछ। यसको प्रत्यक्ष असर इन्धन मूल्यवृद्धि साथै प्रत्येक औधोगिक उत्पादन कच्चा पदार्थ लगाएत दैनिक वस्तुहरु स्वत महँगीन थाल्छन्। त्यसै गरी, लाखौं युवा जनशक्ति सैनिक रुपमा संलग्न हुन बाध्य हुँदा उत्पादनशील श्रमशक्ति घट्छ। उद्योग, कृषि तथा सेवा क्षेत्रमा यसको नकारात्मक प्रभाव पर्छ, जसले दीर्घकालीन आर्थिक अस्थिरता निम्त्याउँछ।

जलवायु परिवर्तनमा तीव्रता आउने युद्ध जन्य उत्सर्जनले विश्व व्यापी तापक्रममा  (ग्लोबल वार्मिङ) थप वृद्धि बढाउँछ।
खाद्य असुरक्षा हुने कृषि प्रणालीमा क्षति पुग्दा खाद्यान्न उत्पादन घट्छ। स्वास्थ्य संकट हुने प्रदूषण र मानसिक तनावका कारण दीर्घकालीन स्वास्थ्य समस्या बढाउछ । द्धन्द्धपछि पुनर्निर्माण गर्दा पनि ठूलो मात्रामा कार्बन उत्सर्जन हुन्छ।

युद्धको प्रभाव केवल सीमित भूभागमा मात्र सीमित रहँदैन; यसले सम्पूर्ण विश्वलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित गर्छ(खुल्ला आकाश)। अल्पकालीन रणनीतिक लाभका लागि सुरु गरिएका युद्धहरुले दीर्घकालमा मानवता र वातावरण दुवैलाई गम्भीर क्षति पुर्‍याउँछन्।

अतः आजको आवश्यकता युद्ध होइन, संवाद, कूटनीति र दिगो विकास तर्फको प्रतिबद्धता हो। विश्व समुदायले वातावरणीय प्रभावलाई समेत ध्यानमा राख्दै शान्ति पूर्ण समाधान खोज्नु अपरिहार्य भइसकेको छ।

विभिन्न युद्धरत देशहरुमा रहेका नेपाली नागरिकहरु को ज्यान जोखिममा रहेको छ, उनिहरुको जीवन सुरक्षित हुनु पर्छ वा सुरक्षित स्वदेश फिर्ता ल्याउने व्यवस्था तुरन्त हुनु फर्छ। उपरांत रेमिटांसले चले, चलाएको हाम्रो देशको आर्थिक अवस्था पनि अत्यंत नाजुक एवं धराशायी हुने नै छ ।

युद्ध एवं आपसी तनावले आर्थिक तथा प्राकृतिक विकटको सामना गर्नु पर्ने हुन्छ। यसै पनि केन्द्रीय राजधानी काठमाण्डौं लगाएत देशका विभिन्न ठाउँहरु वायु, ध्वनि प्रदूषणका कारण विश्व कै सबै भन्दा प्रदूषित देश, शहर को सुचीमा रही उच्च जोखिममा रहेको सबैमा विदित नै छ। चिकित्सक तथा विज्ञहरुले अति आवश्यक काम नभए बाहिर न जान, मास्कको प्रयोग र वायु प्रशोधन यंत्र उपकरणहरु राख्न सल्लाह दिने गरेका छन्।

भन्दा कृषि प्रधान देश, जलश्रोतको धनी देश भनेर मात्र हुदैँन कृषि उत्पादनमा आत्मनिर्भरता, विद्युतको उत्पादनमा विशेष जोड हुनु पर्दछ, सरकारले विधुतिय चुल्हो, विधुतीय सवारी साधनलाई प्रोत्साहन गर्ने निति नियम अवलम्वन गर्नु पर्ने, यस समयको गहिरो मांग हो। युद्ध लम्बिने सम्भावना छ त्यसो भएको खण्डमा हाम्रो जस्तो देश र जनताको हरिविजोग हुने छ
पटक-पटकको प्राकृतिक विपत्ति, नाकाबन्दी झेलेर पनि हाम्रो घइटोमा घाम कहिले लाग्ने होला? चेतना भया।

जसपाल सिंह
श्रीपुर बीरगंज

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *