वीरगंज । बारा जिल्लाको फेटा गाउँपालिका–१, त्रिवेणी टोलस्थित ‘बरमबाबा र सातोमाई मन्दिर’ मा स्थानीय युवाहरूको पहलमा पुनःजीवन प्राप्त भएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको मन्दिरको छतबाट कङ्क्रिट झर्ने र फलामका डन्डी बाहिर निस्किने जस्ता जोखिमपूर्ण अवस्था देखिएको थियो, जसले श्रद्धालुहरूलाई चिन्तित बनाएको थियो।
मर्मतका लागि स्थानीयवासीले सम्बन्धित निकायमा पटक–पटक ध्यानाकर्षण गराए पनि ठोस पहल हुन सकेन। त्यसपछि गाउँका युवाहरू आफैं अघि सरेर उदाहरणीय काम गरेका छन्। सुनील कुशवाहा र विजय कुशवाहाको नेतृत्वमा स्थानीयवासीहरूको श्रमदान र सहयोगबाट मन्दिरको मर्मत तथा रङरोगन कार्य सफलतापूर्वक सम्पन्न गरिएको हो।
युवाहरूको सक्रियताले मन्दिरलाई थप क्षति हुनबाट जोगाउनुका साथै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सामुदायिक एकताको सशक्त उदाहरण प्रस्तुत गरेको छ। जनप्रतिनिधिबाट अपेक्षित सहयोग नपाए पनि स्थानीय तहमा गरिएको यस्तो पहल अहिले सकारात्मक सन्देशका रूपमा फैलिएको छ।






