Categories लेख

राजनीतिमा पुस्तान्तरण: भीष्महरूको घेराबन्दी र आधुनिक अर्जुनहरूको सङ्घर्ष

Advertisement

वीरगंज । चुनावपछि राजनीति सुध्रिने कि बिग्रिने भन्ने बहस अहिले उत्कर्षमा छ। चुनावी मैदानमा होमिएका केही युवा नेताहरूले आफ्नो नेतृत्वमा पराजय भोगेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिए। उनको यो निर्णयलाई कसैले सहानुभूति त कसैले आलोचनाको नजरले हेरे, तर यसले राजनीतिमा एउटा दुर्लभ ‘नैतिकता’को उदाहरण भने पक्कै दियो।

यसको ठीक विपरीत, अर्काथरि नेताहरू “हाम्रो पार्टी पहिलोबाट तेस्रो भएको छ” भन्दै उखान–टुक्कामै गर्व गरिरहेका छन्। पहिलोबाट तेस्रो हुँदा पनि यस्तो सान्त्वना! सायद परीक्षामा फेल हुँदा हाम्रा बुबाआमाले पनि यति सजिलै माफी दिँदैनथे होलान्, तर यी “देशका बा’हरू” भने हारमा पनि विजयको उत्सव मनाइरहेका छन्।

Advertisement

यहीँनेर केही चतुर र राजनीतिक दाउपेचमा माहिर ‘कमरेड’हरू पनि छन्, जो परीक्षाअघि “केही पढेको छैन” भन्ने टपर विद्यार्थीझैँ लुसुक्क सफल भएर निस्कन्छन्। सिङ्गो समूह असफल भए पनि उनीहरू भने नतिजामा कहिल्यै फेल हुँदैनन्।

Advertisement

नयाँ शक्ति र पुराना दलको दम्भ

आक्रोश, आवेग र विवेकको ‘ककटेल मत’बाट दुई–तिहाइको सत्ता दाउपेचमा प्रवेश गरेको नयाँ दलले सिङ्गो संसद ओगट्दा, एउटै बेन्चमा खुम्चिएका पुराना दलहरूले अझै आत्मालोचना गरेका छैनन्। उनीहरू केवल पुरानै शैलीको शक्ति प्रदर्शनमा रमाइरहेका छन्।

वास्तवमा, अबको राजनीति शक्ति प्रदर्शनभन्दा पनि “विधि र पद्धति”मा आधारित हुनुपर्छ। तर जनविश्वास फर्काउनुको साटो उनीहरू सङ्गठनको बलमा दुई–तिहाइको सरकारलाई गलाउन खोज्दैछन्। यो “नाङ्लो ठटाएर हात्ती तर्साउनु” जस्तै हो, जसले उनीहरूको बाँकी रहेको छवि पनि जनतामाझ धुमिल बनाउँदै लैजानेछ। विचार, सिद्धान्त र पद्धतिलाई मजाक बनाएर गुटबन्दी र चाप्लुसीको दलदलमा फसेको राजनीतिक चक्कालाई नयाँ ‘अर्जुन’हरूले निकाल्न त खोज्दैछन्, तर ‘भीष्म’हरूको घेराबन्दीका कारण उनीहरूले आफ्नो गाण्डीव (क्षमता) प्रदर्शन गर्ने अवसर नै पाएका छैनन्।

साहसको अवमूल्यन र ‘गुट–तन्त्र’

चैते घामको मधुरोपनमा एउटा युवा ऊर्जा किरण बनेर निस्किएको थियो, तर नियतिका बुढा बादलहरूले त्यसलाई घेराबन्दी गरे। चे ग्वेभाराको प्रसिद्ध सिद्धान्त छ— “क्रान्तिका लागि सधैं उपयुक्त समय पर्खिरहनु पर्दैन, विद्रोह आफैंले आवश्यक परिस्थिति निर्माण गर्छ।” आज त्यस्तै परिस्थिति निर्माण भएको छ।

एउटा सुन्दर भविष्यको खोजीमा एक युवाले संसदीय दलको नेताका लागि साहस (विद्रोह) गरे। सिङ्गो देशले उनको नाम सुन्न चाहेको थियो, तर लोकतान्त्रिक मूल्य–मान्यताको बहानामा उनको साहसलाई मजाक बनाइयो। गुटगत राजनीतिको कोलाहलमा उनको आवाज यसरी दबाइयो, जहाँ उनलाई प्रस्तावक र समर्थकसमेत नपाउने गरी एक्लो पारियो।

देशले राजनीतिक पुस्तान्तरण खोजिरहेको बेला, समानुपातिकको छहारी ओढेर आएकाहरूलाई नै नेता स्वीकार्नुपर्ने बाध्यात्मक ‘गुट–तान्त्रिक’ व्यवस्थासामु प्रत्यक्ष निर्वाचित सांसदहरूको स्वर कमजोर बनाइएको छ। यद्यपि, यो साहस र योगदानको मूल्याङ्कन समयले पक्कै गर्नेछ।

– लेखक: पुकार सुवेदी (राजनीतिशास्त्र अन्तर्गत स्नातकोत्तर अध्ययनरत विद्यार्थी)

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *