वीरगंज । मधेश विश्वविद्यालय, जसलाई शैक्षिक उत्कृष्टताको केन्द्रको रूपमा स्थापित गर्नुपर्ने थियो, पछिल्लो समय विवाद र अनियमितताका कारण छवि धुमिल बन्दै गएको छ ।
विश्वविद्यालयमा कार्यरत कर्मचारी राजु गद्दीमाथि एक छात्रामाथि यौन दुर्व्यवहार र अनैतिक दबाब सिर्जना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उजुरी अनुसार, गद्दीले परीक्षा अंक घटाउने–बढाउने प्रलोभनमार्फत छात्रामाथि दबाब दिँदै आएका थिए भने फोन र सामाजिक सञ्जालमा निरन्तर अनुपयुक्त सन्देश पठाएर मानसिक तनाव सिर्जना गरिएको थियो।
पर्सा प्रहरीले चैत १४ गते उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको हो र थप अनुसन्धान तीव्र रूपमा भइरहेको छ। गद्दी पूर्व मुख्यमन्त्री लालबाबु राउतका भतिजा हुनु राजनीतिक आयाम पनि थपिएको छ।
केही समय पहिले विश्वविद्यालयका रजिष्ट्रार विजय यादवसँग सम्बन्धित अर्को विवादले पनि प्रशासनको छवि धूमिल बनाएको थियो । यादव र एक युवतीबीचको अन्तरंग सम्बन्धका फोटो–भिडियो सार्वजनिक भएपछि विश्वविद्यालयमा हलचल मच्चिएको थियो। विवाहित यादवसँगको सम्बन्ध र सम्बन्धित युवतीले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको प्रमाणले प्रशासनको नैतिक जिम्मेवारीमाथि प्रश्न खडा गरेको छ।
विश्वविद्यालयका डिन डाक्टर अन्जय मिश्राको नाममा बनाइएको मधेश विश्वविद्यालयको डीनको कार्यालय नामक आधिकारिक फेसबुक पेजमार्फत महिला कर्मचारीहरूको जन्मदिनका तस्बिरहरू तथा अश्लील भोजपुरी गीत समावेश भएका भिडियोहरू पोस्ट गरिएको भन्दै जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट अनुशासन उल्लङ्घन भइरहेको आरोपसमेत लाग्दै आएको छ।
अनुशासनको दृष्टिले पनि विश्वविद्यालयमा कमजोरी देखिएको छ। केही महिनाअघि, विश्वविद्यालयकै गाडी चालकले मदिरा सेवन गरी गाडी चलाउँदा परिसरभित्र दुर्घटना गराएको घटना बाहिर आएको थियो। यसले संस्थाभित्रको निगरानी र अनुशासनको कमी उजागर गरेको छ।
उपकुलपति प्रा. डा. दीपक शाक्यको सिफारिसमा यादव र अन्य उच्च पदस्थ अधिकारीहरूको नियुक्ति प्रक्रियामा पारदर्शिता र सुशासनबारे शंका बढेको छ। कर्मचारीहरू जागिर गुम्ने डरले मौन बस्न बाध्य छन् भने स्थानीयवासी र सरोकारवालाहरूले कडा निगरानी र दोषीमाथि कडा कारबाहीको माग गर्न थालेका छन्।
यी घटनाहरूले मधेश विश्वविद्यालय केवल शैक्षिक संस्था नभई विवाद, अनियमितता र नैतिक विचलनको केन्द्र बन्दै गएको देखाउँछन्। विद्यार्थीहरूको सुरक्षा, अधिकार र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने संस्थामा यस्ता घटना दोहोरिनु गम्भीर चिन्ताको विषय बनेको छ।






