Categories समाचार

बारा जिल्लामा सार्वजनिक स्थलमा अवैध गतिविधि र गैरकानुनी कर असुलीबारे युवाहरूको चेतावनी

वीरगंज । “जेन–जेड एण्ड युथ अफ बारा” नामक युवा समूहले बारा जिल्लाका सार्वजनिक तथा धार्मिक स्थलहरूमा बढ्दै गएको अवैध गतिविधि तथा केही स्थानीय तहद्वारा असुलिँदै आएको गैरकानुनी करप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। यस विषयमा समूहले प्रमुख जिल्ला अधिकारीसमक्ष औपचारिक रूपमा आग्रहसमेत गरेको जनाएको छ।

समूहका अनुसार हाल सार्वजनिक स्थलहरूमा लागुऔषध सेवन, चुरोट सेवन तथा अभद्र व्यवहारजस्ता प्रतिबन्धित क्रियाकलाप बढ्दै गएका छन्, जसले सामाजिक मर्यादा र शान्ति–सुरक्षामा नकारात्मक असर पारिरहेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गर्न उनीहरूले माग गरेका छन्।

Advertisement

त्यसैगरी, अर्को पत्रमार्फत समूहले केही स्थानीय तहहरूले सवारी साधनमा असुल्दै आएको करलाई कानुनविपरीत रहेको भन्दै आपत्ति जनाएको छ। उनीहरूको भनाइमा उक्त कर अवैध मात्र नभई सर्वसाधारणमाथि अनावश्यक आर्थिक भार थप्ने कार्य भएकोले यथाशीघ्र रोक्न आवश्यक रहेको छ।

Advertisement

युवा समूहले सम्बन्धित निकायहरूलाई प्रभावकारी अनुगमन, नियन्त्रण तथा आवश्यक कारबाही गर्न आग्रह गर्दै नागरिकको हक अधिकारको संरक्षण सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *