वीरगंज। सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई लक्षित गरी आपत्तिजनक तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका पाँचथरका एक युवालाई परिवारको जिम्मा लगाइएको छ।
गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनासम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार साइबर अपराध सम्बन्धी अनुसन्धान प्रक्रिया जिल्ला अदालतको अनुमति लिएर प्रचलित कानूनी व्यवस्था अनुसार अघि बढाइएको थियो।
विज्ञप्तिमा उल्लेख भएअनुसार पक्राउ परेका ती युवकलाई चैत २९ गते आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाइएको हो।
मन्त्रालयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्दै आएको उल्लेख गरेको छ। साथै, सामाजिक सञ्जालमा विचार व्यक्त गर्दा मर्यादित, सभ्य र जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ।
त्यस्तै, उच्छृङ्खल गतिविधि, सार्वजनिक अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने तथा गालीगलौजपूर्ण अभिव्यक्तिहरू प्रचलित कानूनी दायराभित्र पर्ने भन्दै यस्ता गतिविधिमा सम्बन्धित निकायले आवश्यक निगरानी र कारबाही गर्दै आएको मन्त्रालयले स्पष्ट पारेको छ।
सरकार नागरिकको मौलिक हक तथा अधिकार संरक्षणमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।






