Categories समाचार

प्रेम सम्बन्धको शंकामा वीरगञ्जमा युवकको हत्या, चार जना नियन्त्रणमा

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ रानीघाट क्षेत्रमा एक युवकको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, हिजो दिउँसो करिब ४:४० बजे रानीघाटस्थित फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका २८ वर्षीय विकास कुमार चौरसियामाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको थियो।

Advertisement

विवाहेतर सम्बन्धको आशंकामा आरोपीहरूले पीडितलाई कोठामा बोलाएर टाउको तथा शरीरका विभिन्न भागमा फलामको छड र धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएका थिए।

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई घाइते चौरसियालाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो। तर, उपचारकै क्रममा साँझ ५:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी २४ वर्षीया श्रीमती सोनी कुमारी, बारा महागढीमाई–७ का १९ वर्षीय विशाल साह र भारत उत्तर प्रदेश अलीगढका २१ वर्षीय ओमबीर प्रजापतिलाई नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट CCTV फुटेज संकलन गर्नुका साथै कल डिटेल रेकर्ड (CDR) विश्लेषण र अन्य प्रमाणहरूको आधारमा घटनामा उनीहरूको संलग्नता पुष्टि भएको जनाएको छ।

प्रहरीका अनुसार प्रेम सम्बन्ध, रिस र आवेगका कारण घटना घटाइएको प्रारम्भिक निष्कर्ष छ। पक्राउ परेका चारै जनामाथि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *