वीरगञ्ज । वीरगञ्जमा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
सोमबार वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर चोक नजिक भएको दुर्घटनामा वीरगञ्ज–३२ चोर्नी निवासी दिपेन्द्र श्रीवास्तव घाइते भएका हुन्। उनको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ।
प्राप्त जानकारी अनुसार, ड्राइपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–००१–प १६२९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सशस्त्र प्रहरीको ना १ झ १५३१ नम्बरको स्कार्पियोले ठक्कर दिएको थियो। दुर्घटनाको समयमा मोटरसाइकलमा चिनी र खानेतेल लोड गरिएको थियो।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सशस्त्र प्रहरीको गाडी अचानक मोटरसाइकलतर्फ आएपछि दुर्घटना भएको हो। घटनापछि स्थानीयले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई जानकारी गराएका थिए।
सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय श्रीपुरबाट बरिष्ठ प्रहरी नायव निरीक्षक धिरेन्द्र थपलियाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।






