वीरगंज । नववर्ष २०८३ को स्वागत धार्मिक वातावरणमा गर्ने उद्देश्यसहित वीरगंजमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। वीरगंज महानगरपालिका–१६ नगवा पोखरीस्थित श्री बौधिमाइ मन्दिर परिसरमा बैशाख १ गते मंगलबार ‘श्री हनुमान आराधना तथा महाआरती’ आयोजना गर्न लागिएको हो।
श्री नगवा दुर्गा पूजा समितिको आयोजनामा हुने उक्त कार्यक्रम ‘श्री १०८ सामूहिक साप्ताहिक हनुमान चालीसा पाठ’ सफलतापूर्वक सम्पन्न भएको अवसरमा गरिन लागेको आयोजकले जनाएको छ।
समितिका कोषाध्यक्ष चन्दन प्रजापतीका अनुसार बिहानदेखि बेलुका ५ बजेसम्म निरन्तर हनुमान आराधना सञ्चालन हुनेछ भने साँझ ६:३० बजे विशेष महाआरती गरिनेछ। महाआरतीपछि उपस्थित भक्तजनहरूलाई प्रसाद वितरणको व्यवस्था पनि गरिएको छ।
नववर्षको सुरुवात धार्मिक आस्था, आध्यात्मिक चेतना र सामाजिक एकतासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। समितिले सम्पूर्ण वीरगंजवासी तथा भक्तजनहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेको छ।
कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन हिन्दु पत्रकार संघका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण सचिव राजकुमार सरार्फले गरेका थिए। सो अवसरमा आयोजक समितिका अध्यक्ष सुरज साह कानु, कोषाध्यक्ष चन्दन प्रजापती, सदस्य भोला गुप्ता लगायत पदाधिकारी, स्थानीय अग्रज, महिला तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।






