वीरगंज । बैशाख १ गतेलाई हामीले नयाँ वर्षको रुपमा धुमधाम साथ मनाउने गर्दछौं । यस अवसरमा सरकार द्वारा बिदा पनि दिने गरिन्छ । प्रत्येक क्षेत्रका व्यक्तिले आ-आफ्नो क्षमता अनुसार विभिन्न प्रकारका परिकारहरु खाने तथा नयाँ लुगा लगाई भविष्यका राम्रा कल्पनाहरु साकार गर्ने विश्वासका साथ, एक आपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने गर्दछन् ।
यस दिन हामीहरु खुशीसाथ सबैको भलाई तथा सफलताको कामना गर्ने गर्दछौं । कृषिको दृष्टिकोणले पनि यो महत्वपुर्ण हुने गर्दछ किनभने, गहुँ, जौ, आलस, रहर र अन्य खेती बालीहरु पनि भित्र्याउने समय हुन्छ । भारतको उत्तर तिर पर्ने राज्य पंजाब कृषि, उधोग, मेहनत, बहादुरी, खान पिन तथा समृद्ध संस्कृतिको लागी विख्यात छ ।
वि.सं. १७५६ (सन् १६९९ ई.), वैशाख १ गतेको पवित्र दिन। स्थान-आनन्दपुर साहेब (पन्जाब भारत)। बिहानैदेखि हजारौंको सङ्ख्यामा श्रद्धालुहरु भेला भएका थिए। वातावरण उत्सवमय थियो, किनकि वैशाखी परम्परागत रुपमा नयाँ वर्ष तथा अन्नबाली भित्र्याउने पर्वका रुपमा मनाइन्थ्यो। तर यस वर्षको वैशाखी इतिहासमा सदैवका लागि अमर हुने थियो ।
सिख पंथले यस वैशाख १ गते लाई “वैशाखी” भन्ने गर्दछन् र भव्यताका साथ मनाउने गर्दछन् । संवत १७५६ बैशाख (१६९९ इस्वी) आन्दपुर साहेब पंजाबमा सिखपंथका दशम गुरु श्री गुरु गोबिन्द सिहं जी ले सिख पंंथलाई नयाँ एवं पूर्णता बख्शनु भयो । खालसा पंथ अर्थात ( मिसावट रहित, शुद्ध, मन वचन हुने सिखको रुप दिनु भयो) त्यस दिन ठुलो चौरमा हजारौंको संख्यामा सिखहरुको उपस्थिति थियो । दशमेश पिता गुरु गोबिन्द रायजी ले (सिंह ) आफ्नो शिष्यहरुको परिक्षा लिनको लागि आफ्नो एउटा हाथमा कृपाण (तरबार) लिइकन हुकुम गर्नु भयो मलाई एक सिखको सिर (टाउको) चाहियो । जसले आफ्नो सिर (टाउको) भेट दिनुछ त्यो अगाडि आउ, यस गर्जन युक्त वचन सुनेर सबैको मुटु काम्न थाल्यो । आज गुरु साहेब लाई के भयो? केहि व्यक्तिहरु डरले उठेर बाहिर पनि जान थाले । जब तीन पल्ट गुरु जी ले दोह्रयाउनु भयो । तब भीड बाट एकजना भाई दयाराम जी लाहौर (हाल पाकिस्तान) को निवासीले आफ्नो सिर भेटको लागि हाजिर गर्नु भयो, गुरुज्यु ले उहाँको हाथ समातेर भित्र पालमा लानु भयो र एकलै फिर्ता आउनु भयो, त्यस बेला उहाँको तरबारमा रगत जस्तो लागेको थियो। फेरी एउटा सिर चाहियो भन्दा फेरी एक जना भाइ धर्मदासजी हस्तीनापुरको हाजिर हुनु भयो । उहाँलाई पनि गुरुजी ले पाल भित्र लानु भयो र एक्लै फिर्ता आउनु भयो तेश्रो पल्ट फेरी एउटा सिर माग्नु भयोे त्यती बेला भाई हिम्मत राय जी जगन्नाथपुरी निवासी हाजिर हुनु भयो, चौथो पल्ट फेरि गुरु जी ले सिर माग्दा भाई मोहकम चन्द जी द्वारिका निवासी हाजिर हुनु भयो । पाँचौ पल्ट भाई साहेब चन्द विदर निवासी हाजिर हुनु भयो ।
उहाँहरु पाँचै जना लाई एक–एक गरी भित्र लगेको केही समय पछि गुरुजी ले पाल बाट पाँचै जनाको सिरमा फेटा, नयाँ वस्त्र तथा शस्त्रमा सजाएर ल्याउनु भयो । सबै सिख यी पाँचै जना फरक-फरक भूगोल, जात र पेशाबाट आएका थिए कसैको पृष्ठभूमि व्यापारी, कसैको किसान, कसैको सेवा क्षेत्र।
यस घटनाले गुरु साहेबको सन्देश स्पष्ट पार्यो
मानव मात्रको एकता, समानता र जात-पातको अन्त्य।
उनिहरुलाई नयाँ रुपमा देखेर दगं परे सतगुरु जी ले पाँचै जनालाई आफु संग मंचमा राखेर सबै सिख सगंत लाई संम्बोधित गरेर भन्नु भयो । यी मेरा पाँच प्यारा हुन जसले मलाई आफ्नो जीवन दिनु भयो । यिनिहरु हुन्
“पंच परवाण पंच परधानु पंचे पावहि दरगाहि मानु” ।
अर्थात यिनीहरु पंथमा प्रधान तथा प्रभुको द्वारमा सम्मानित हुनेछन्।
त्यस उपरान्त अमृतको दाता साहेब श्री गुरु गोबिन्द सिहं ज्यू ले फलामको ठुलो कचौरामा जल तथा बतासा (चिनीको मिठाई) हालेर बायाँ हाथले खन्डाले (दुवै तिर धार भएको सानो तरबार सिखहरुको मुख्य हतियार मध्ये एक) घोटेर मुख बाट पाँच वाणीको पाठ (प्रत्येक सिखले गर्नु पर्ने प्रभुको दैनिक पाठ) गरी रहनु भयो, पाठ समाप्ति पछि गुरुजी ले पाँचै जनालाई एक-एक गरी अमृत (जल) पाँच थोपा खुआउनु भयो पाँच थोपा कपाल (केश) मा छर्किनु भयो पाँच थोपा आँखाहरुमा छर्किनु भयो । प्रत्येक थोपाहरुको साथमा वाहेगुरु जी का खालसा ।। वाहिगुरु जी की फतेह ।।
(अर्थात हामी प्रभुका सन्तान हौं, प्रभुको सधैं जीत होस । (फतेह) विजय घोष गर्नुभयो तथा गराउनु भयो )
अमृत को मर्यादा संम्पन्न गरेर गुरुजी ले सबै सगंत (समुदायलाई) आजबाट उहाँहरुको नाम पछाडि सिंह राखि दिनु भयो ।
१.भाई दयाराम- दया सिंह
२ं.भाई धर्मदास- धर्म सिंह
३.भाई हिम्मत मल – हिम्मत सिंह
४.भाई मोहकम राय – मोहकम सिंंह
५. भाई साहेब चन्द- साहेब सिंह
आजबाट अमृत धारी सिखको नाम पछाडी सिंह (राजा) र महिलाको नामको पछाडी कौर रानी (राजकुमारी) हुनेछ भन्नुभयो ।
व्यवहारिक अर्थ: आत्मरक्षा र न्यायको हकमा उठ्ने चेतना।
त्यस पश्चात गुरुजी ले पाँच प्यारे लाई सम्बोधन गरेर भन्नु भयो अमृतधारी सिखको पाँच कक्कार क बाट आउने वस्तुहरु चिन्ह हुनेछ ।
केश, केश (नकाटिएको कपाल)
आध्यात्मिक अर्थ: ईश्वर प्रदत्त स्वरुप स्विकार गर्नु।
व्यवहारिक अर्थ: आफ्नो पहिचान र आत्मविश्वासको रक्षा।
२. कंघा (कपाल कोर्ने काइयो)
आध्यात्मिक अर्थ: शरीर र मनको स्वच्छता।
व्यवहारिक अर्थ: अनुशासन र नियमितता।
३. कड़ा (दाहिने हातमा लगाउने फलामको बाला)
आध्यात्मिक अर्थ: ईश्वरप्रति बन्धन र स्मरण।
व्यवहारिक अर्थ: दृढता, प्रतिबद्धता र रक्षा।
४. कच्छेरा (लामो कट्टु मर्यादित अधोवस्त्र)
आध्यात्मिक अर्थ: संयम र पवित्रता।
व्यवहारिक अर्थ: सजिलो, चलायमान र सुरक्षित वस्त्र।
५. कृपाण (तलवार)
आध्यात्मिक अर्थ: सत्यको रक्षा गर्ने आत्मबल।
यो समय खालसाको स्वरुप र मर्यादा
खालसा पंथलाई गुरु जीले पाँच कक्कार द्वारा चिनाउनु भयो धार्मिक स्वतन्त्रता गम्भीर संकटमा थियो। जबर्जस्ती धर्म परिवर्तन, अन्याय, अत्याचार र भयको वातावरण व्याप्त थियो। यसअघि उनका पिता श्री गुरु तेग बहादुर जी ले कश्मीरी पण्डितहरुको धर्म जोगाउन आफ्नो जीवन बलिदान गर्नुभएको थियो।
यस पृष्ठभूमिमा, अब आवश्यक थियो
एक यस्तो समुदाय, जो आध्यात्मिक मात्र होइन, साहसी, संगठित र अन्याय विरुद्ध उभिन सक्षम होस्।
यसैले श्री गुरु गोबिन्द सिंह जी ले “खालसा पंथ” स्थापना गर्नुभयो ।
सन्त र सिपाहीको अदभुत संयोजन।
गुरु साहेबको कौतुकको (लीला ) गहिरो अर्थ
गुरु जीले “सिर माग्ने” जो लीला गर्नुभयो, त्यो केवल परीक्षा थिएन, बरु गहिरो शिक्षाको माध्यम थियो ।
डरमाथि विजय प्राप्त गर्नु गुरुमा पूर्ण विश्वास राख्नु , त्याग र समर्पणको भावना विकास गर्नु, अन्याय विरुद्ध दृढतापूर्वक उभिनु यसले साधारण मानिसलाई असाधारण बन्ने प्रेरणा दियो।
उपरान्त गुरुजी ले आफनो पाँच प्यारे लाई संबोधित गरेर भन्नुभयो खालसाजी अमृत तयार गरेर मलाई पनि, त्यस्तै विधिले अमृतपान गराउनु होस, जसरी मैले तपाईहरु लाई गराए तथा मलाई पनि गोबिन्द राय बाट गोबिन्द सिहं हुने मान प्रदान गर्नुहोस ।
यो सुनेर भाई दया सिंह लगायत पाँच प्यारे अकमक परे तर गुरुजी बाट निश्चयपूर्वक आज्ञा सुनेर गुरु गोबिन्द सिंह जी लाई पनि सो विधि अनुसार अमृतपान गराएर गोबिन्द राय बाट गोबिन्द सिंह बनाउनु भयो (गुरु गोबिन्द सिंह ज्यु को नाम पहिले गोबिन्द राय थियो) ।
अर्थात यसरी तेस्रो पन्थका रचयिता सुरवीर “वाहवाह गोबिन्द सिंह आफै गुरु आफै चेला भए”, पहिले गुरु भएर चेलाहरुलाई अमृतपान गराउनु भयो अनि पछि आफ्नै चेलाहरु बाट चेला हुनु भयो ।
उपरोक्त पाँच जना भारतका बिभिन्न प्रान्त राज्य तथा विभिन्न जातिका थिए यस प्रकार सिख समुदायमा जाति पातिको भेदभाव प्रथम गुरु श्री गुरु नानक देवजी को पाला देखिनै हटाउँदै गइरहेका थिए भन्ने कुराको यो ठुलो प्रमाण थियो ।
यस प्रकार सिख समुदायमा खालसा पंथको रचना गरी विभिन्न गुण विशेषता ले परिपुर्ण गरे पछि गुरु जी ले हुकुम गर्नु भयो कि अन्य समुदायका व्यक्तिहरु ले जस्तै एक अर्कालाई भेटदा आदान प्रदान गर्ने शुभकामना संकेत भन्छन् । त्यसै गरी खालसा (सिखहरुले) आपसमा भेटदा
वाहेगुरु जी का खालसा ।।
वाहेगुरु जी की फतेह ।।
विजयी शुभकामना संकेत बोलाउनु पर्नेछ ।
अमृत बेलामा उठनु पर्ने, शौच आदि गर्ने गुरवाणीको नितनेम (नियमित पाठ) गर्ने साँझमा रहिरास साहेब तथा रात्रीमा सोहिला साहेबको पाठ गर्ने । प्रभुको नाम सिम्रन (सुमिरण) गर्नाले मानीसको सबै दुःख पाप नास हुन्छ ।
आफनो कर्म राम्ररी गर्नुपर्छ । पाप, झुट, पाखन्ड बाट सधै टाढा बस्ने मेहनतले आफ्नो कार्य गर्ने र जीविका चलाउने कसैलाई
दुःख, ठेस नपुर्याउने
दीन दुःखिहरु लाई सहयोग गर्ने, बिरामीहरु लाई उपचारमा सहयोग गर्न जातपातलाई नमान्ने । आफनो मेहनतको कमाई बाट दशवन्ध (दश प्रतिशत) धर्म तथा समाजको काममा अभावमा रहेका आवश्यकता भएकाहरु लाई भोजन तथा विभिन्न सहयोग गर्ने गराउने ।
यस दिन किसानको खुशी र आध्यात्मिक जागरण एकैसाथ मिसिएको छ। पंजाब आफ्नो कला, संस्कार तथा संस्कृतिहरु को लागि विश्व प्रसिद्ध नै छ ।
सिख समुदाय र विश्वमा यसको प्रभाव
खालसा पन्थ स्थापना पछि सिख समुदायमा अदभुत परिवर्तन आयो । भयबाट मुक्त, साहसी समाजको निर्माण
अन्याय विरुद्ध संगठित प्रतिरोध सेवा, समानता र मानवताको विस्तार आज सिख समुदाय विश्वभर फैलिएको छ र खालसाको सन्देश “मानव सेवा नै साँचो धर्म हो” लाई व्यवहारमा उतारिरहेको छ।
एक क्रान्ति, एक चेतना
वैशाखी १७५६ को दिन केवल एउटा धार्मिक घटना मात्र थिएन – यो मानव इतिहासको एक महान क्रान्ति थियो।
श्री गुरु गोबिन्द सिंह जी ले पाँच साधारण मानिसलाई “पंज प्यारे” बनाएर देखाउनु भयो कि साहस, विश्वास र समर्पणले मानिसलाई असाधारण बनाउँछ। आज पनि खालसा साजना दिवसले हामीलाई प्रेरणा दिन्छ सत्यको पक्षमा उभिन अन्यायको विरोध गर्न र मानवताको सेवा गर्न ।
उपरोक्त सबै खाले मानविय गुणले परिपूर्ण गरी दशम गुरु श्री गुरु गोबिन्द सिंह जी ले वि.स.१७५६ (१६९९) बैशाख को दिन आनन्दपुर साहेब पंजाबमा खालसा पंथको जग राखेर यस सिख पंथलाई खालसा बनाएर विश्वभरीको मानवता लाई ठुलो गुण लगाएको ले यस दिनलाई नयाँ वर्ष साथै खालसाको जन्म दिवसको रुपमा विश्वभरीका सिख समुदायले धुमधाम का साथ मनाउने गर्दछन् ।
यो समुदायको एउटा ठूलो चाड मध्ये पर्छ, यस चाडमा गुरुद्वारा साहेबमा श्री गुरु ग्रन्थ साहेब जी को ४८ घण्टा अखण्ड पाठ साहेब वाचन गरिन्छ। ३ दिन गुरुजी को अटुट लंगर प्रसाद (निशुल्क भोजन) वितरण गरिन्छ।
नयाँ वर्ष २०८३ को सबैमा हार्दिक मङ्गलमय शुभकामना। सबैको सु-स्वास्थ्य, प्रसन्नता, सुख शान्ति, समृद्धि तथा आन्नदमय जीवनको लागि प्रार्थना।

जसपाल सिंह
श्रीपुर, बीरगंज






