बिरगंज । नयाँ वर्ष २०८३ को अवसरमा उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१ भगवाननगरस्थित एक वृद्ध वृद्धा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ।
संस्थाले आश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्तिहरू, वृद्धवृद्धा तथा बालबालिकाहरूको उपभोगका लागि चामल ९० किलो (३ बोरा), सोयाबिन ५ किलो, खानेतेल १० लिटर, मसुर दाल १० किलो, चिउरा १० किलो लगायत लुगाधुने साबुन, बिस्कुट, बेसार मसला जस्ता सामग्री उपलब्ध गराएको जनाएको छ।
एक कार्यक्रमका बीच आश्रमका सदस्य शेरबहादुर थिङलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुको उपस्थिति रहेको थियो।
उपकार सेवा नेपालले विगतदेखि नै प्रत्येक महिना उक्त आश्रमलाई आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताइएको छ।






