वीरगन्ज । वीरगन्ज महानगरपालिकाले मुर्ली चोकदेखि उत्तरतर्फ नेपाल आयल निगमको क्षेत्रीय कार्यालयसम्म जाने भित्री सडक विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेकै बेला अदालतको आदेशका कारण काम रोकिएको छ।
महानगरपालिकाले सोमबार अपराह्नदेखि सडक चौडा गर्ने योजना बनाएको थियो। तर सो क्षेत्रका तीन जना घरधनीले उच्च अदालतको अस्थायी इजलासमा रिट दायर गरेपछि अवस्था फेरियो। रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि सडक विस्तार नगर्न अन्तरिम आदेश (स्टे अर्डर) जारी गरेको छ।
अदालतको आदेशपछि महानगरपालिकाले मुर्ली चोकदेखि बाइपासस्थित नेपाल आयल निगमसम्मको सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको जनाएको छ। मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज फुर्यालका अनुसार अदालतको निर्णयलाई सम्मान गर्दै हालका लागि कुनै पनि भौतिक काम अघि बढाइने छैन ।
यसअघि महानगरपालिकाले आइतबार सूचना जारी गर्दै उक्त सडक १० मिटर फराकिलो बनाउनुपर्ने बताउँदै केन्द्ररेखाबाट दायाँ–बायाँ ५/५ मिटरभित्र पर्ने संरचना २४ घण्टाभित्र हटाउन घरधनीहरूलाई निर्देशन दिएको थियो।
महानगरपालिकाका अनुसार, आयल निगम कार्यालयदेखि सबाह अन्सारीको घरसम्मको खण्डमा विस्तारको काम सम्पन्न भइसकेको छ भने बाँकी खण्डमा प्रक्रिया अघि बढाउने तयारी भइरहेको थियो। तर पटक–पटक अवरोध हुँदै आएको यो योजना यसपटक अदालतको आदेशका कारण फेरि रोकिएको हो।
अब सडक विस्तारको भविष्य अदालतको अन्तिम निर्णयमा निर्भर रहने देखिएको छ।






