वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–७ स्थित रेलबे रोड कुम्हालटोलको पंचमुखी हनुमान मन्दिर परिसरमा ‘श्री श्री १०८ श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ आजदेखि विधिवत् रूपमा प्रारम्भ भएको छ। वैशाख ९ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने यस धार्मिक कार्यक्रमले स्थानीय क्षेत्रमा विशेष उत्साह ल्याएको छ।
कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै भव्य कलश यात्रा निकालिएको थियो। यज्ञ स्थलबाट सुरु भएको यात्रा नगरका विभिन्न स्थान हुँदै घडिअर्वा पोखरीसम्म पुगेर जल संकलन गरी पुनः यज्ञ स्थलमा फर्किएपछि सम्पन्न भएको थियो। यात्रामा विशेष गरी महिलाहरूले टाउकोमा कलश बोकेर भजन–कीर्तन गर्दै सहभागिता जनाएका थिए।
कलश यात्रामा स्थानीयवासी, श्रद्धालु तथा धर्मप्रेमीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। पूरै क्षेत्र धार्मिक वातावरणले भरिएको थियो भने सहभागीहरूमा उत्साह झल्किन्थ्यो।
आयोजक समितिका अनुसार महायज्ञ अवधिभर दैनिक पूजा–आराधना, हवन, श्रीराम कथा वाचन लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्। विभिन्न स्थानबाट आमन्त्रित पण्डित तथा वाचकहरूले प्रवचन दिने कार्यक्रम पनि तय गरिएको छ।
महायज्ञमार्फत धार्मिक चेतना फैलाउने, सामाजिक सद्भाव बढाउने र समुदायबीच एकता सुदृढ गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। साथै, सबै श्रद्धालुहरूलाई कार्यक्रममा सहभागी भई पुण्य आर्जन गर्न अनुरोध गरिएको छ।






