वीरगन्ज । वीरगन्जमा रहेका मदरसाहरूको अवस्थाबारे बुझ्न प्रहरीले स्थलगत अनुगमन सुरु गरेको छ। वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको टोलीले बुधबार महानगरका विभिन्न स्थानमा सञ्चालनमा रहेका चार मदरसामा पुगेर निरीक्षण गरेको हो।
प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. २ छपकैयामा रहेका नुरन्नबी तालिमुल कुरआन, जामिया मदनिया तालिमुल कुरआन, यतिमखाना दारुल यतमा इस्लामिक तथा वडा नं. ३ मा रहेको बरकतुल उलुम मदरसामा पुगेर प्रशासनिक तथा कानुनी पक्षको अध्ययन गरेको जनाएको छ।
निरीक्षणका क्रममा मदरसाहरूको दर्ता प्रक्रिया, सञ्चालन अनुमति तथा अन्य आवश्यक कागजातहरूको जाँच गरिएको थियो। यसैक्रममा एक मदरसा बिना दर्ता सञ्चालनमा रहेको भेटिएपछि सम्बन्धित पक्षलाई कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।
पछिल्लो समय देखिएका विभिन्न गतिविधिलाई ध्यानमा राख्दै यस्तो अनुगमनलाई प्राथमिकता दिइएको प्रहरीले स्पष्ट पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगामी दिनहरूमा पनि अन्य मदरसाहरूमा यस्तै अनुगमनलाई निरन्तरता दिइनेछ।






