वीरगञ्ज । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम महासङ्घ पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको हो।
प्रभातफेरी कार्यक्रम वीरगञ्जस्थित घण्टाघरबाट सुरु भई शहरका विभिन्न मुख्य मार्ग हुँदै पुनः घण्टाघरमै पुगेर समापन गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले पछिल्ला वर्षहरूमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। उनले संघीय संसद्मा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक तथा सूचना प्रविधि ऐन लगायतका सञ्चारसम्बन्धी कानुनप्रति महासङ्घले गम्भीर चासो राखेको स्पष्ट पारे।
त्यसैगरी उनले सञ्चार क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेको, पत्रकार पलायन बढिरहेको तथा निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन र सूचनाको पहुँचमा समस्या देखिएको भन्दै यी अवस्थाले पत्रकारिता थप जटिल बन्दै गएको उल्लेख गरे।
अध्यक्ष खनालले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मी तथा प्रेस स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिँदै प्रेस स्वतन्त्रताको संरक्षणका लागि सबै पेसागत संगठन, नागरिक अगुवा तथा सरोकारवालाबीच ऐक्यबद्धता आवश्यक रहेको बताए।






