Categories समाचार

पूर्व मेयर सरावगी माथि सडक अतिक्रमणको आरोप

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रंगशाला जाने मुख्य सडक खण्डमा अनियमितता र अतिक्रमण भएको भन्दै स्थानीयवासीले गम्भीर आपत्ति जनाएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ अन्तर्गत गौतम स्कुल अगाडिको उक्त सडक मूल रूपमा ५० फिट चौडाइको योजना अनुसार निर्माण भएको दाबी गरिए पनि हाल सडक साँघुरिँदै गएको स्थानीयहरूको आरोप छ।

स्थानीयका अनुसार सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०३६ सालमा तयार गरिएको र २०४२ सालमा औपचारिक रूपमा उद्घाटन गरिएको थियो। तर पछिल्ला वर्षहरूमा विभिन्न अनधिकृत संरचना निर्माणका कारण सडकको वास्तविक चौडाइ घट्दै गएको उनीहरूको भनाइ छ।

Advertisement

यसैबीच, चिनी मिल अगाडिबाट बाइपास रोडमा जोडिने उक्त सडक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भएको विषय पनि उठेको छ। विशेष गरी पूर्व मेयर विजय सरावगीमाथि सडक अतिक्रमण गरी निजी संरचना निर्माण गरेको आरोप सार्वजनिक रूपमा लागेपछि विवाद थप चुलिएको छ। तर यस विषयमा आधिकारिक पुष्टि भने हुन बाँकी छ।

Advertisement

स्थानीयवासीले “रक्षक नै भक्षक भए भने सर्वसाधारणले कसरी न्याय पाउँछन्?” भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी भएका व्यक्तिबाटै अतिक्रमण भएको दाबी अत्यन्त गम्भीर भएको उल्लेख गर्दै तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्।

नागरिकहरूले सडकको मूल चौडाइ पुनः कायम गरिनुपर्ने, अतिक्रमण हटाइनुपर्ने र दोषी देखिए कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। यस्तै, नागरिक समाजका प्रतिनिधिहरूले पनि शहरी विकास र पूर्वाधार निर्माणमा पारदर्शिता अनिवार्य भएको भन्दै सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।

यदि समयमै समस्या समाधान नभए यस्ता अतिक्रमणले भविष्यमा शहरी व्यवस्थापन र यातायातमा थप जटिलता निम्त्याउने चेतावनी समेत स्थानीयहरूले दिएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *