वीरगंज । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको खुर्सानीटार क्षेत्रबाट पक्राउ गरेको हो।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार जोशीमाथि आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। उनले सरकारी सम्पत्तिमा बेइमानीपूर्वक हस्तक्षेप गर्दै नेपाल सरकारको हितविरुद्ध काम गरेको आरोप लगाइएको छ।
स्मार्ट टेलिकम २०८० वैशाखदेखि नवीकरण प्रक्रिया पूरा नगरेका कारण सञ्चालनमा छैन। उक्त प्रकरणसँग जोडिएर जोशीले सरकारी स्रोतमा क्षति पुर्याएको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सोमबार पक्राउ परेका ४५ वर्षीय जोशीमाथि थप अनुसन्धान जारी रहेको छ।






