Categories समाचार

शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति निषेध गर्ने प्रधानमन्त्रीको घोषणा

Advertisement

वीरगंज । बालेन शाह ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिबाट मुक्त गर्ने स्पष्ट नीति सार्वजनिक गरेका छन्। लामो समयदेखि विद्यार्थी, कर्मचारी, पत्रकार, अभियन्ता तथा सर्वसाधारणले उठाउँदै आएको “पार्टीकरणले प्रणाली बिगारेको” गुनासोलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।


प्रधानमन्त्री शाहले विगतमा विद्यार्थी र कर्मचारी संगठनहरू आफ्नो मूल उद्देश्यभन्दा टाढा गई राजनीतिक दलका “स्लिपर सेल” जस्तो बनेको टिप्पणी गरे। योग्यता र क्षमताभन्दा पहुँच र दलगत झण्डाको प्रभाव बढ्दा राज्य प्रणालीप्रति जनविश्वास कमजोर भएको उनको भनाइ छ।

Advertisement

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रमा दलगत राजनीति हटाउने निर्णय संगठन बनाउन नसकेर नभई, थप दलगत संरचना बनाउँदा समस्या समाधान नहुने निष्कर्षका आधारमा गरिएको स्पष्ट पारे। “शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलको झोला निषेध” को नीतिले अधिकार खोस्ने होइन, पेशागत स्वतन्त्रता मजबुत बनाउने उनको दाबी छ।

Advertisement

प्रधानमन्त्रीका अनुसार अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनुपर्नेछ। उनले विद्यार्थीलाई सभ्य, जिम्मेवार र विचारशील राजनीति सिकाउनुपर्ने र कर्मचारीले कुनै दल होइन, जनताको सेवा गर्नुपर्नेमा जोड दिए।


“यो कुनै पार्टीविरुद्धको लडाइँ होइन, यो प्रणाली र भविष्य बचाउने प्रयास हो,” उनले भने, “देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने हाम्रो उद्देश्य हो।”


सरकारले अध्यादेशमार्फत यी विकृतिहरू हटाउने प्रक्रिया अघि बढाएको जनाउँदै प्रधानमन्त्री शाहले सबै पक्षबाट सहयोग र विश्वासको अपेक्षा गरेका छन्। उनले परिवर्तन भाषणले नभई ठोस निर्णयबाट आउने उल्लेख गर्दै सरकार जनचाहनाअनुसार काम गरिरहेको दाबी गरे।


Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *