वीरगंज । पर्सा जिल्लाको ठोरी क्षेत्रमा लागूऔषध जस्तो देखिने क्याप्सुलसहित एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको विवरणअनुसार गत सोमबार अपराह्न करिब ४:२० बजे ठोरी गाउँपालिका–१ चौताराचोकमा नियमित जाँचका क्रममा उक्त घटना भएको हो।
इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको यात्रुवाहक बसलाई रोकी जाँच गर्दा शंकास्पद वस्तु फेला पारेको हो।
जाँचका क्रममा बसमा सवार चितवन माडी नगरपालिका–८ निवासी १९ वर्षीय विश्वास परियारको पाइन्टको दायाँ खल्तीबाट ‘Laborate’ लेखिएको निलो रङको २२५ क्याप्सुल तथा बायाँ खल्तीबाट थप २५० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।
यसरी जम्मा ४७५ क्याप्सुल फेला परेपछि उनलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।






