वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अस्थायी रूपमा अवरुद्ध भएको सूचना जारी गरेको छ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा प्राविधिक समस्या देखिएपछि मर्मत कार्य जारी रहेकाले सेवा प्रभावित भएको जनाइएको हो।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग ले गत वैशाख २३ गते नै सूचना प्रकाशित गर्दै प्रणालीमा समस्या आएको जानकारी गराएको थियो। तर हालसम्म पनि मर्मत कार्य सम्पन्न भई सेवा सुचारु हुन नसकेको कारण अर्को सूचना प्रकाशित नभएसम्म जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण सेवा बन्द रहने जनाएको छ।
कार्यालयले सेवा अवरुद्ध हुँदा सर्वसाधारणमा परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।






