वीरगंज । नेता मनोज चौधरीलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। निर्वाचनअघि विस्फोटक पदार्थसहित पक्राउ परेका चौधरी हालसम्म वीरगंज कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले बिहीबार पर्सा जिल्ला अदालतको अघिल्लो आदेश बदर गर्दै चौधरीलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश गोकर्ण डाँगी र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी ध्रुव सुबेदीले जानकारी दिए।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार बनेका चौधरीलाई मतदान हुनुभन्दा दुई दिनअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी सवार गाडीबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु बरामद भएको भन्दै प्रहरीले चौधरीसहित चार जनालाई पक्राउ गरेको थियो।
विष्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतले चैत १२ गते चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध चौधरी पक्ष उच्च अदालत गएको थियो।






