वीरगञ्ज । विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले वीरगञ्जस्थित शाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी दिवस मनाएको छ। रेडक्रसका संस्थापक जाँ हेनरी डयुनाँको स्मरणमा झण्डोत्तोलन, दीप प्रज्वलन तथा तस्बिरमा माल्यार्पण गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मधु राणा, कार्यकारिणी सदस्य दिनानाथ रौनियार, मुना खनाल, रेसमकोठी उपशाखाका अभिलाष गुप्ता, राजन श्रीवास्तव, लक्ष्मीनारायण राउत, बाबुनन्द चौरसिया, मिना क्षेत्री तथा कार्यालय प्रमुख बिरसमसेर कुर्मी लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले मानवता, निष्पक्षता र सेवाको भावनालाई आत्मसात गर्दै रेडक्रसले समाजमा पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए। सहभागीहरूले डयुनाँको तस्बिरमा फूलमाला र अबिर अर्पण गर्दै मानव सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत जनाएका थिए।
दिवसकै अवसरमा पर्सा जिल्लाको लक्ष्मीपुरस्थित रेडक्रस प्रावि विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम पनि राखिएको शाखाले जनाएको छ। विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, लेजर, कटर लगायतका स्टेशनरी सामग्रीसँगै पाइन्ट र सर्ट वितरण गरिने बताइएको छ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले यस्ता कार्यक्रमले सामाजिक सेवा, शिक्षा र मानवीय सहयोगको भावना अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।






