वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका ८८ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया सुरु गरिएको जनाएको हो।
महानगरपालिकाका अनुसार ती सहकारी संस्थाहरूले लामो समयदेखि कुनै आर्थिक कारोबार नगरेको, मासिक प्रगति प्रतिवेदन पेश नगरेको, वार्षिक साधारण सभा आयोजना नगरेको, लेखापरीक्षण प्रतिवेदन बुझाउन नसकेको तथा कोपोमिस प्रणालीमा विवरण प्रविष्टि समेत नगरेको पाइएकाले कारवाही प्रक्रिया अघि बढाइएको हो।
महानगरपालिकाको सहकारी शाखाले मिति २०८२ चैत १२ गतेको निर्णयअनुसार निष्क्रिय सहकारी संस्थामाथि कारवाही प्रक्रिया सुरु गरिएको जनाएको छ। महानगरका अनुसार ती संस्थाहरू पूर्ण रूपमा सम्पर्कविहीन रहेको तथा सहकारी अभियानको मर्मविपरीत गतिविधिमा संलग्न रहेको विषय विभिन्न सञ्चारमाध्यममार्फत जानकारीमा आएको थियो।
यसै आधारमा वीरगञ्ज महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ६६ उपदफा (३) बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको र ऐनकै दफा ६६ उपदफा (४) अनुसार सम्बन्धित संस्थालाई सुनुवाइका लागि ३५ दिने सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाले सम्बन्धित सबै सहकारी संस्थालाई तोकिएको अवधिभित्र सम्पर्कमा आई आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ। अन्यथा कानुनबमोजिम दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ।






