वीरगंज । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरी नेपाल भित्र्याइएको करिब १४ लाख ११ हजार रुपैयाँ बराबरका कपडा तथा किराना सामान बरामद गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको टोली तथा वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५ नकटुवा विर्ताटोलस्थित गोठमा छापामारी गरेको थियो। उक्त स्थानबाट भन्सार छली गरी भण्डारण गरेर राखिएको ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको १७ पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याई लुकाइछिपाई राखिएको किराना सामानबारे प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुर, प्रहरी चौकी बलुवा तथा वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले खानतलासी गरेको थियो। टोलीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरका किराना सामान बरामद गरी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ।
घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले भन्सार छली तथा अवैध कारोबार नियन्त्रण अभियानलाई निरन्तर कडाइ गरिएको बताए।






