वीरगञ्ज । वीरगञ्जस्थित विभिन्न क्यासिनोहरूमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हिजो राति करिब ११:४० बजे वीरगञ्जका क्यासिनोहरूमा शंकास्पद गतिविधि भइरहेको भन्ने विशेष सूचनाका आधारमा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो।
सोही क्रममा प्रहरीले King Casino, Fortune City Gaming Club र Casino Mahjong मा छापा मार्दै जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा भारत, बिहारका वर्ष २६ का गणेश कुमार, वर्ष ३८ का सन्दीप कुमार, वर्ष ३१ का सुरज प्रसाद, वर्ष ४३ का अल्लाह यादव र वर्ष ३६ का ओमप्रकाश यादव रहेका छन्। यस्तै, वीरगञ्ज महानगरपालिका–३२ का वर्ष ३७ का जमुदिन मियाँ अन्सारी पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट रु. ५०० का गेमिङ चिप, नेपाली रु. ५५५, भारतीय रु. १,२०० तथा दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






