वीरगञ्ज । पर्सा प्रहरीले २१ वर्षदेखि फरार रहेका सवारी ज्यान मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ पंचरुखी निवासी ४७ वर्षीय दिनेश प्रसाद यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०६२ मंसिर १५ गते वीरगञ्ज महानगरपालिका–१४ चिनीमिल आवास क्षेत्रअगाडि सडकखण्डमा ना.३ प ६३६२ नम्बरको मोटरसाइकलले पैदलयात्री बारा जितपुरसिमरा उपमहानगरपालिका–२० निवासी ६५ वर्षीय कालिका सिंह राजपुतलाई ठक्कर दिएको थियो। दुर्घटनापछि चालक मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका थिए।
घाइते राजपुतलाई तत्काल उपचारका लागि ललितपुरस्थित बि.एण्ड.बि. अस्पताल पठाइएकोमा उपचारकै क्रममा २०६२ मंसिर २६ गते चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि फरार रहेका यादवलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवविरुद्ध सवारी ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






