वीरगञ्ज । सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज लेडिज सर्कलले जिल्ला प्रहरी कार्यालय पर्साको महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षलाई ६ सय ३० पिस सेनेटरी प्याड सहयोग गरेको छ।
मंगलबार आयोजित कार्यक्रममा संस्थाले महिला तथा किशोरीहरूको स्वास्थ्य, सरसफाइ र महिनावारी स्वच्छताप्रति सचेतना फैलाउने उद्देश्यसहित उक्त सामग्री हस्तान्तरण गरेको जनाएको हो। सहयोगस्वरूप प्रदान गरिएको सेनेटरी प्याड आवश्यकतामा रहेका महिला तथा किशोरीहरूलाई महिला, बालबालिका सेवा तथा ज्येष्ठ नागरिक कक्षमार्फत वितरण गरिने जानकारी दिइएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकसहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले वीरगञ्ज लेडिज सर्कलले गरेको सामाजिक कार्यलाई प्रशंसनीय र समाजका लागि प्रेरणादायी पहलको रूपमा व्याख्या गरेका थिए।
उनीहरूले यस्ता मानवीय तथा सहयोगमूलक अभियानले महिला स्वास्थ्य र महिनावारी स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गर्न सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे। साथै, महिला तथा किशोरीहरूको आधारभूत स्वास्थ्य आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न सरकारी निकाय र सामाजिक संस्थाबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।






