वीरगंज । कृष्णप्रसाद यादव नेतृत्वको मधेश सरकार यतिबेला संकटको घेरामा परेको छ। विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठक पटक–पटक सर्दा सत्ता गठबन्धनभित्रको असन्तुष्टि सतहमा देखिएको हो।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन खोजेका हुन्। बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि प्रदेशसभा परिसरमा राजनीतिक दौडधुप तीव्र बनेको छ।
विशेषगरी जनता समाजवादी पार्टी नेपाल ले अझै औपचारिक निर्णय सार्वजनिक नगरेकाले सत्ता पक्षमै अन्योल बढेको छ। यता नेपाली कांग्रेसभित्र पनि आन्तरिक असन्तुष्टि देखिएको छ। कांग्रेसकै शेखर समूहका केही सांसदले ‘फ्लोर क्रस’ गर्न सक्ने चर्चा चलेपछि मुख्यमन्त्री पक्ष थप दबाबमा परेको छ।
बैठक अहिले दिउँसो १:१० बजेसम्मका लागि सारिएको छ भने कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। त्यसको निष्कर्षपछि मात्रै प्रदेशसभाको बैठक बस्ने वा पुनः स्थगित हुने टुंगो लाग्ने बताइएको छ।






