वीरगंज । वीरगंज महानगरपालिकाको “क्षयरोगमुक्त वीरगंज अभियान” अन्तर्गत वडा नं. २५ स्थित सिर्सिया स्वास्थ्य चौकीमा क्षयरोग खोजी तथा परीक्षण शिविर सम्पन्न गरिएको छ।
शिविरमा एआई प्रविधियुक्त डिजिटल एक्सरेमार्फत करिब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ५० जनामा क्षयरोगको लक्षण देखिएपछि थप पुष्टि गर्न उनीहरूको खकार परीक्षणका लागि नमुना संकलन गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
महानगरपालिकाले समुदायस्तरमै पुगेर क्षयरोगको समयमै पहिचान, परीक्षण र उपचार सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा प्रमुख राजु साहले जानकारी दिए। प्रारम्भिक अवस्थामै रोग पत्ता लगाएर उपचार सुरु गर्न सके क्षयरोग नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।






