वीरगञ्ज । वीरगञ्ज पब्लिक स्कुल ले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विशेष कार्यक्रमबीच बिदाइ गरेको छ । होटेल भिस्वामा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले आफ्ना सिनियरहरूलाई सम्मान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल प्रहरी मधेस प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला को प्रमुख आतिथ्य तथा स्कुलका एकेडेमीक निर्देशक दीपक पटेल को अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी कोइरालाले विद्यार्थी जीवनमा अनुशासन, लगनशीलता र स्पष्ट लक्ष्यको महत्व औंल्याए । उनले युवापुस्ताले अध्ययनसँगै असल चरित्र निर्माणमा पनि ध्यान दिनुपर्ने धारणा राख्दै समाजप्रति जिम्मेवार नागरिक बन्न आग्रह गरे ।
त्यसैगरी निर्देशक पटेलले बिदाइ हुने विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै विद्यालयले गुणस्तरीय शिक्षा र अनुशासित वातावरण प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताए । उनले आत्मविश्वास र सकारात्मक सोचसहित अघि बढ्न विद्यार्थीहरूलाई प्रेरणा दिएका थिए ।
दीप प्रज्वलनसँगै सुरु भएको कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरूले नृत्य, गीत–संगीत तथा नाटकमार्फत मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा स्कुलका निर्देशक सन्दीप कुशवाहा, प्रधानाध्यापक प्रभात मेहता, शिक्षक, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । अन्त्यमा विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक तस्बिरसहित कार्यक्रम सम्पन्न भएको थियो ।






