वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै गठन गरिएको संघर्ष समितिले मंगलबार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाएको छ।
संघर्ष समितिका संयोजक अनुप तिवारी नेतृत्वको टोलीले महासंघको वर्तमान कार्यसमितिलाई विगतमा जस्तै सदस्यताको छानबिन प्रक्रिया अघि बढाउन आग्रह गर्दै अयोग्य तथा विधानविपरीत रहेका व्यक्तिहरूलाई सदस्यताबाट हटाउन माग गरेको हो।
समितिले पत्रकारिता क्षेत्रमा सक्रिय, सक्षम र योग्य पत्रकारहरूलाई अविलम्ब सदस्यता प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएको छ। साथै, तीन दिनभित्र सदस्यता छानबिन र नयाँ सदस्यता वितरणका लागि आवश्यक प्रक्रिया अघि नबढाइए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिएको छ।
ज्ञापनपत्रमा नेपाल पत्रकार महासंघ लोकतान्त्रिक व्यवस्था र नागरिकको विश्वास प्राप्त संस्था भएकाले आफ्नै विधान, पद्धति र प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने उल्लेख गरिएको छ।
समितिले २०७२ माघ १४ गते शाखाका पूर्वअध्यक्ष शत्रुधन नेपालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेका सातवटा मापदण्डको आधारमा सदस्यता शुद्धीकरण गरिएको स्मरण गराउँदै विगतका दुई कार्यकालमा सञ्चालन गरिएको शुद्धीकरण अभियानलाई पुनः निरन्तरता दिन माग गरेको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघर्ष समितिका सहसंयोजक शेखर छतकुल्लीसहित आशिक अन्सारी, लालकिशोर सिंह, राम कुशवाहा, राजेन्द्र सिंह, सन्तोष पटेल, बलिराम यादवलगायत पत्रकारहरूको सहभागिता रहेको थियो।
महासंघको सभाहलमा ज्ञापनपत्र बुझाउने क्रममा महासंघ पर्साका उपाध्यक्ष भुषण यादव, कोषाध्यक्ष संजीव कुमार मिश्र तथा सहसचिव एस.के. चौरसियाको पनि उपस्थिति रहेको थियो।






