वीरगंज । एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका नेवार समुदायका विद्यार्थीहरुलाई नेवा: देय् दबू पर्साले सम्मान गरेको छ ।
वीरगंजमा आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने पर्सा जिल्लाका १४ जना छात्रछात्रालाई सम्मान गरिएको हो । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्मानित विद्यार्थीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र तथा उपहार प्रदान गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले विद्यार्थीहरुलाई लगनशीलताका साथ थप अध्ययन गर्न आग्रह गर्नुभयो । “सिक्न कहिल्यै लाज मान्नु हुँदैन, आत्मविश्वास र हौसला उच्च राखेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । साथै, स्पष्ट लक्ष्य निर्धारण गरी आफ्नो रुचि र चाहनाअनुसारको अध्ययन रोज्न पनि उहाँले सुझाव दिनुभयो ।
सम्मानित हुनेहरुमा नियश्ना श्रेष्ठ, नमन श्रेष्ठ, प्रनिश मानन्धर, प्रज्ञा कसजु लगायत रहेका छन् ।
नेवा: देय् दबू पर्साका जिल्ला अध्यक्ष सुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, राम श्रेष्ठ, अरबिन्द अमात्य लगायतको सहभागिता रहेको थियो ।







