Categories समाचार

धर्मशालाका नाममा पोखरी र कुलो मास्ने प्रयास भएको स्थानीयको आरोप

Advertisement

वीरगंज । वीरगंज महानगरपालिका–२६ सुगौलीमा रहेको सार्वजनिक पोखरी र कुलो अतिक्रमण गरी धर्मशाला निर्माण गर्न लागिएको विषयलाई लिएर स्थानीय स्तरमा विवाद उत्पन्न भएको छ। सरकारी नक्सामा सार्वजनिक संरचनाका रूपमा उल्लेख गरिएको जग्गामा माटो पुरेर निर्माण कार्य अघि बढाइएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्।

स्थानीयका अनुसार कित्ता नं. ४२ मा सार्वजनिक पोखरी तथा कित्ता नं. १८८ मा पैनी/कुलो रहेको सरकारी नापी नक्सामै उल्लेख छ। तर उक्त क्षेत्र पुरेर धर्मशाला निर्माणको काम भइरहेको भन्दै वीरगंज महानगरपालिका–२६ का वडा अध्यक्ष शम्भु मिश्रामाथि आरोप लागेको छ।

Advertisement

स्थानीय बासिन्दाले वडा अध्यक्ष मिश्राले राजनीतिक पहुँचको आडमा सार्वजनिक सम्पत्तिमाथि हस्तक्षेप गर्दै निर्माण कार्य गराइरहेको दाबी गरेका छन्। उक्त निर्माण मधेश प्रदेश सरकारको बजेटमार्फत पूर्वाधार विकास कार्यालयबाट सञ्चालन भइरहेको बताइएको छ।

Advertisement

नेपालको प्रचलित कानुनअनुसार सार्वजनिक पोखरी, कुलो, तालतलैया तथा अन्य जलस्रोत अतिक्रमण गर्न, पुर्न वा निजी प्रयोजनमा प्रयोग गर्न पाइँदैन। तर जनप्रतिनिधिकै संरक्षणमा प्राकृतिक स्रोत मास्ने प्रयास भइरहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।

“धर्मशालाको नाममा पुस्तौँदेखि प्रयोग हुँदै आएको सार्वजनिक पोखरी र कुलो समाप्त पार्ने काम भइरहेको छ। यो सार्वजनिक सम्पत्ति र प्राकृतिक स्रोत माथिको हस्तक्षेप हो,” एक स्थानीयले गुनासो गरे।

स्थानीयका अनुसार वडा अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने जिम्मेवारीमा रहेका जनप्रतिनिधिबाटै यस्ता गतिविधि हुनु दुःखद भएको उनीहरूको भनाइ छ।

स्थानीय तथा सरोकारवालाले तत्काल निर्माण कार्य रोक्न, निष्पक्ष छानबिन गर्न र सार्वजनिक पोखरी तथा कुलो संरक्षण गर्न सम्बन्धित निकाय, स्थानीय प्रशासन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन्। दोषीमाथि कानुनी कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत स्थानीयले दिएका छन्।

यता वडा अध्यक्ष शम्भु मिश्रले भने आफूले कुनै पनि काम व्यक्तिगत रूपमा नगरेको बताउँदै गाउँका अधिकांश नागरिकको चाहना र सहमतिअनुसार नै निर्माण कार्य अघि बढाइएको दाबी गरेका छन्। “जनताको समर्थन र विकासप्रतिको प्रतिबद्धताकै कारण पुनः निर्वाचित भएको हुँ,” उनले प्रतिक्रिया दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *