Categories समाचार

ठोरीको NTC सेवा अव्यवस्थित, सुधारको माग गर्दै वीरगञ्जमा युवाहरुले बुझाए ज्ञापन

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा लामो समयदेखि देखिएको मोबाइल नेटवर्क समस्याको स्थायी समाधानको माग गर्दै युवाहरुले नेपाल टेलिकममा ज्ञापन पत्र बुझाएका छन् ।

ठोरीका सामाजिक अभियन्ता धिर सिंह घिमिरेको नेतृत्वमा पुगेको टोलीले वीरगंज स्थित टेलिकमको क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक श्रीभद्र घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा सामान्य वर्षा हुनासाथ मोबाइल नेटवर्क पूर्ण रूपमा अवरुद्ध हुने समस्याका कारण स्थानीय नागरिक फोन, इन्टरनेट तथा अन्य सञ्चार सेवाबाट वञ्चित हुँदै आएको उल्लेख गरिएको छ ।

Advertisement

करिब एक दशकअघि टेलिकम टावर निर्माण गरिए पनि सेवा गुणस्तरमा अपेक्षित सुधार नभएको भन्दै ठोरीका करिब बीस हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेको जनाइएको छ ।

Advertisement

नेटवर्क समस्याका कारण दैनिक जनजीवन, व्यवसाय, शैक्षिक गतिविधि, बैंकिङ कारोबार, अनलाइन सेवा तथा आकस्मिक अवस्थासमेत प्रभावित भइरहेको उल्लेख गर्दै स्थानीयले तत्काल प्राविधिक अध्ययन गरी स्थायी समाधान, उपकरण स्तरोन्नति तथा आवश्यक स्थानमा थप टावर जडान गर्न माग गरेका छन् ।

ठोरी क्षेत्र पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको अवस्थामा कमजोर नेटवर्क सेवाले नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै ज्ञापनपत्रमार्फत गुणस्तरीय तथा भरपर्दो सञ्चार सेवा सुनिश्चित गर्न आग्रह गरिएको छ ।

युवा अभियन्ता घिमिरेको नेतृत्वमा गएको टोलीमा माधव बस्नेत, हिरा श्रेष्ठ, हिमाल कुवँर, राजकुमार कोइराला लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *