नागरिकता किर्ते मुद्दामा मेयर राजेशमान सिंह अदालतमा उपस्थित, सुनुवाइ हुन सकेन
वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नागरिकता सम्बन्धी लिखत किर्ते गरेको अभियोगमा बुधबार पर्सा जिल्ला अदालतमा स्वयम् उपस्थित भएका छन् । अदालतबाट जेठ ८ गते पक्राउ पुर्जी जारी भएपछि उनी बिहान ९ बजे कार्यालय समय सुरु हुनासाथ अदालत पुगेका हुन् ।
अदालत परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मेयर सिंहले आफ्नो मुद्दामा म्याद जारी भएको जानकारी सञ्चारमाध्यमबाट पाएपछि कानुनी प्रक्रियामा सहयोग गर्न आफू स्वेच्छाले अदालतमा उपस्थित भएको बताएका छन् । उनले न्यायिक प्रक्रियालाई सम्मान गर्दै अदालतमा हाजिर भएको उल्लेख गरे ।
तर, पर्सा जिल्ला अदालतमा बुधबार मुद्दाको चाप अत्यधिक रहेकाले उनको मुद्दामा सुनुवाइ हुन नसकेको अदालत स्रोतले जनाएको छ । अदालतमा धेरै मुद्दा दर्ता तथा पेशी परेकाले सुनुवाइ स्थगित भएको बताइएको छ । सुनुवाइ हुन नसकेपछि मेयर सिंह अदालतबाट फर्किएका थिए ।
मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले पनि अदालतमा अत्यधिक मुद्दा रहेकाले सुनुवाइ हुन नसकेको जानकारी दिएका छन् । अब अदालतले अर्को मिति तोकेपछि उक्त मुद्दाको सुनुवाइ प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।







