वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–महावीर मन्दिरस्थित “अनमोल स्विट” बाट मगाइएको भेज म:ममा कपालको रौँ भेटिएको घटनाले खाद्य स्वच्छतामाथि गम्भीर प्रश्न उठाएको छ।
मंगलबार सरकारी कार्यालयमा खाजाका लागि मगाइएको म:म खाने क्रममा कपाल भेटिएको भन्दै उपभोक्ताले फोटो, भिडियो र बिलसहितको प्रमाण उपभोक्ता हित संरक्षण मञ्च नेपालमा सुरक्षित रहेको बताएका छन्।
घटनापछि स्थानीय उपभोक्ताहरूले वीरगञ्जका होटल, रेष्टुरेन्ट तथा मिठाई पसलहरूमा खाद्य स्वच्छता मापदण्ड प्रभावकारी रूपमा पालना नभएको गुनासो गरेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्थानीय प्रशासन र महानगरपालिकासँग नियमित तथा पारदर्शी अनुगमनको माग गरेका छन्।
उपभोक्ताहरूले “स्वच्छ खाना उपभोक्ताको अधिकार” भएको उल्लेख गर्दै दोषी व्यवसायमाथि कडा कारबाही र प्रभावकारी नियमन आवश्यक रहेको बताएका छन्।







