वीरगन्ज । वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित कृषि औजार कारखाना पछाडिको झाझी टोलमा अवैध देहव्यापार सञ्चालन भइरहेको सूचनापछि प्रहरीले छापामारी गरी सात जनालाई नियन्त्रणमा लिएको छ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष प्रहरी टोलीले स्थानीय वकिल मियाँ अन्सारीको घरमा छापा मार्दा दुई पुरुष र पाँच महिलालाई फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा घरधनी अन्सारीसहित एक पुरुष ग्राहक र पाँच महिला रहेका छन्।
स्थानीयवासीका अनुसार उक्त घरमा लामो समयदेखि शंकास्पद गतिविधि हुँदै आएको थियो। विशेष सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेपछि घरभित्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डीएसपी हरीबहादुर बस्नेतले अवैध देहव्यापारसम्बन्धी आरोपमा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।







