वीरगञ्ज । सहयोगापेक्षी तथा सडकआश्रित मानवहरूको उद्धार, संरक्षण र पुनर्स्थापनामा सक्रिय मानवसेवा आश्रम वीरगञ्ज शाखाले आज आफ्नो ९औँ वार्षिक उत्सव मनाउँदै छ। वि.सं. २०७४ जेठ १५ गते नारायणी अस्पताल परिसरबाट एक सहयोगापेक्षी व्यक्तिको उद्धार गर्दै सुरु भएको आश्रमको यात्रा अहिले पर्सा–बाराका नागरिकहरूको साझा अभियानका रूपमा स्थापित भएको छ।
आश्रमका अनुसार स्थापना कालदेखि हालसम्म ३ सय ४२ जनाको उद्धार गरिएको छ। तीमध्ये १ सय ५९ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ३३ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ। यस्तै, ६५ जनालाई आश्रमका अन्य शाखामा स्थानान्तरण गरिएको तथा ४१ जनाले आश्रममै अन्तिम श्वास लिएको जनाइएको छ। हाल वीरगञ्ज–२५ श्रीसियास्थित आश्रममा ४४ जना महिला, पुरुष तथा बालबालिका आश्रित रहेका छन्।
मानवसेवा आश्रम वीरगञ्ज शाखाको सुरुवाती चरण वीरगञ्ज–९ स्थित इन्डियन एम्बेसी पछाडिको भाडाको घरबाट भएको थियो। वि.सं. २०८० सालदेखि भने प्रदेशसभा सदस्य रमेश पटेलको पहलमा श्रीसियास्थित भवनमा आश्रम सञ्चालन हुँदै आएको छ। साथै वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–१५ लक्ष्मणवामा उपलब्ध गराएको १४ कठ्ठा जग्गामा करिब २० करोड रुपैयाँ लागतमा सुविधा सम्पन्न भवन निर्माण कार्यसमेत अगाडि बढाइएको आश्रमले जनाएको छ।
मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक सामाजिक संस्था हो। वि.सं. २०६९ सालदेखि मानव सेवामा सक्रिय रहेको संस्थाले सडकपेटी, खुला आकाशमुनि तथा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गर्दै आइरहेको छ। हाल आश्रमले सातै प्रदेशका २२ जिल्लामा ३४ वटा सेवाकेन्द्र सञ्चालन गरिरहेको जनाएको छ।
आश्रमका संस्थापक देवेश गुप्ताले मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण पर्सा बारावासीको माया, विश्वास र सहयोगबाट सञ्चालन भइरहेको बताउनुभयो। उहाँका अनुसार दैनिक ज्याला मजदुरी गर्ने श्रमिकदेखि उद्योगपति, व्यापारी, कर्मचारी, विद्यार्थी तथा गृहिणीसम्म सबै वर्गका नागरिकले आफ्नो क्षमता अनुसार सहयोग गर्दै आएका छन्।
वार्षिकोत्सवको अवसरमा आश्रम परिवारले विगत ९ वर्षदेखि निरन्तर साथ, सहयोग, माया र विश्वास प्रदान गर्ने सम्पूर्ण सहयोगी मन, दाता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको छ।







