Categories समाचार

सदस्यता शुद्धीकरणको नाममा तालाबन्दी गरिएको भन्दै पत्रकार महासंघ पर्साको आपत्ति

Advertisement

वीरगञ्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले सदस्यता शुद्धीकरणको विषयलाई लिएर गठन भएको भनिएको ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’को नाममा शाखा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर आपत्ति जनाएको छ।

शाखाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको अवस्थामा केही व्यक्तिहरूले कुनै औपचारिक जानकारी नदिई कार्यालयमा ताला लगाएर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको गतिविधिलाई दुःखद, आपत्तिजनक तथा संस्थाको गरिमामाथिको प्रत्यक्ष प्रहारको रूपमा व्याख्या गरेको छ।

Advertisement

विज्ञप्तिमा नेपाल पत्रकार महासंघ पर्सा शाखा सम्पूर्ण सञ्चारकर्मीहरूको साझा संस्था भएको उल्लेख गर्दै यस्ता गतिविधिले पर्साको पत्रकारिताको एकता, विश्वास र प्रतिष्ठामा गम्भीर असर पुगेको जनाइएको छ।

Advertisement

महासंघले सदस्यता शुद्धीकरणप्रति आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै शुद्धीकरण प्रक्रिया व्यक्तिगत आग्रह वा दबाबका आधारमा नभई संस्थाको विधि, विधान तथा विगतका निर्णयहरूको अध्ययन र सहमतिका आधारमा अघि बढ्नुपर्ने जनाएको छ।

वर्तमान कार्यसमितिले निवर्तमान नेतृत्वको कार्यकालमै कायम भएका सदस्यहरूको मतबाट नेतृत्व परिवर्तन भइसकेको अवस्थामा पनि निर्णय पुस्तिका, आर्थिक विवरण तथा अन्य अभिलेख हालसम्म हस्तान्तरण नभएको भन्दै चिन्ता व्यक्त गरेको छ। साधारणसभा गर्ने तयारी भइरहेका बेला भएका यस्ता गतिविधिले थप आशंका उत्पन्न गरेको शाखाको भनाइ छ।

विज्ञप्तिमा पदस्थापनकै दिन निर्णय पुस्तिका हस्तान्तरण नगरिनु, पटक–पटक आग्रह गर्दा पनि कागजात नबुझाइनु, ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय कार्यान्वयन नहुनु तथा साधारणसभा सम्बन्धी प्रक्रिया प्रभावित पार्ने प्रयास भएको आरोपसमेत लगाइएको छ।

महासंघ पर्सा शाखाले निर्णय पुस्तिकासहित सम्पूर्ण हरहिसाब तत्काल बुझाउन, सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न तथा कार्यालयमा लगाइएको तालाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। साथै संवाद र सहकार्यका लागि आफूहरू सधैं तयार रहेको जनाउँदै संस्थाको गरिमा, पत्रकारहरूको प्रतिष्ठा तथा कानुनी अधिकारमाथि निरन्तर प्रहार भए आवश्यक कानुनी उपचारको बाटो रोज्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *