वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा चौथो संस्करणको “प्रसौनी प्रिमियम लिग २०८३” क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन वडा नम्बर २३ का वडा सदस्य लालबाबु यादवले गरेका थिए। वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा चार टोली सहभागी छन्।
कार्यक्रम संयोजक सुजित साहका अनुसार प्रतियोगिताका सबै खेल १६ ओभरको र फाइनल २० ओभरको हुनेछ। प्रतियोगिता करिब एक सातासम्म सञ्चालन हुने छ।
स्थानीय युवाको सहभागितासहित सुरु भएको प्रतियोगिताले क्षेत्रीय क्रिकेट विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।







