वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को केन्द्रीय सदस्यमा निर्वाचित विश्वनाथ खनाललाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बधाई तथा सम्मान व्यक्त गर्नुभएको छ।
महानगर प्रमुख सिंहले आफ्नै कार्यकक्षमा खनाललाई खादा ओढाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।
ढुवानी तथा यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय खनाल महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। उनको निर्वाचनसँगै ढुवानी व्यवसायीहरूको इतिहासमै पहिलो पटक उक्त क्षेत्रबाट महासंघमा प्रतिनिधित्व सुनिश्चित भएको छ।
खनाल ढुवानी व्यवसायी महासंघ–नेपालका निवर्तमान अध्यक्ष समेत हुन्। उनले ढुवानी तथा यातायात क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र निजी क्षेत्रको हितका लागि लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
खनालको नेतृत्व र अनुभवले ढुवानी व्यवसायसँग सम्बन्धित मुद्दाहरूको समाधान, निजी क्षेत्रको सशक्तीकरण तथा उद्योग–व्यापारमैत्री नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।







