वीरगन्ज । परवानीपुर–ड्राइपोर्ट सडकखण्डअन्तर्गत वीरगन्ज महानगरपालिका–२१ मा सोमबार करिब १२ बजे लोडर दुर्घटना हुँदा चालकसहित १० जना सामान्य घाइते भएका छन्।
परवानीपुर चौकीबाट करिब पाँच सय मिटर पश्चिमतर्फ मधेश प्रदेश ०३–५१–००२ स ४३५७ नम्बरको हलुका मालसामान बोक्ने लोडर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका घाइतेहरूलाई प्रहरीको सहयोगमा एम्बुलेन्समार्फत वीरगन्ज महानगरपालिका–१४ बहुवरीस्थित स्पर्श मल्टिस्पेशलिटी अस्पतालमा पुर्याइएको थियो।
प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु राखिएको र तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा पोखरिया नगरपालिका–७ का रामजी दास, ४८ वर्षीय लंगटु सहनी, बिन्दबासिनी गाउँपालिका–५ का सुरेन्द्र मुखिया, करिमन मुखिया, बिगा सहनी, मोतिलाल मुखिया र दीपक मुखियासहित अन्य घाइते भएका छन्।
घाइतेहरूलाई सुरुमा नजिकैको सरकारी अस्पताल लैजाने प्रयास भए पनि एम्बुलेन्सले सिधै निजी अस्पताल पुर्याएको पीडित पक्षको आरोप छ। उपचारका क्रममा अस्पतालले सामान्य चोटपटकका लागि समेत अस्वाभाविक रूपमा बढी बिल बनाएको भन्दै घाइते तथा आफन्तहरूले असन्तुष्टि जनाएका छन्।
केही घण्टाको उपचारपछि करिब २ लाख ८० हजार रुपैयाँसम्मको बिल देखाइएपछि पीडित पक्ष आक्रोशित बनेका थिए। किशोरी सहनी, प्रेम सहनी, सुरेन्द्र मुखिया, लंगटु सहनीलगायतले सामान्य उपचारमै हजारौँ रुपैयाँको बिल आएको गुनासो गरेका छन्।
विवाद र होहल्लापछि अस्पताल प्रशासन र घाइते पक्षबीच छलफल भई अन्ततः २ लाख ८० हजारको बिल घटाएर ६५ हजार रुपैयाँमा सहमति गरिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालका प्रशासन शाखाका रुपक पटेलका अनुसार आर्थिक अवस्था कमजोर भएकाहरूलाई आन्तरिक सहमतिअनुसार छुट दिइएको हो।
यता घाइते पक्षका सञ्जीव मिश्राले भने अस्पतालले अस्वाभाविक रूपमा शुल्क लिएको आरोप लगाउँदै दबाबपछि मात्र बिल घटाउन बाध्य भएको दाबी गरेका छन्। एम्बुलेन्स चालकले मनोमानी रूपमा निजी अस्पताल पुर्याउने प्रवृत्तिले यस्ता समस्या दोहोरिने गरेको स्थानीयको भनाइ छ।







