वीरगंज । चितवनको नारायणगढबाट अपहरणमा परेका १६ वर्षीय किशोरलाई प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको छ। अपहरणकारीहरूको योजनाबद्ध प्रयासबीच किशोरको सुझबुझ र प्रहरीको तीव्र अनुसन्धानका कारण उनी सुरक्षित रूपमा परिवारको सम्पर्कमा फर्किएका हुन्।
प्रहरीका अनुसार भारतको बिहारबाट नेपाल आएका एक समूहले असार १ गते किशोरलाई नारायणगढबाट अपहरण गरी काठमाडौं ल्याएका थिए। अपहरणकारीहरूले परिवारसँग २२ लाख रुपैयाँ फिरौती माग्दै रकम नदिए ज्यान मार्ने धम्कीसमेत दिएका थिए।
अनुसन्धानका क्रममा अपहरणमा संलग्न मुख्य व्यक्ति किशोरका पूर्वपरिचित रहेको खुलेको छ। कक्षा ७ र ८ मा सँगै अध्ययन गरेका साथीले ‘नेपाल आएको छु, भेट्न आउ’ भन्दै सम्पर्क गरेपछि किशोर उनलाई भेट्न गएका थिए। त्यही भेट नै अपहरणको जालो बनेको प्रहरीको निष्कर्ष छ।
काठमाडौं ल्याइएपछि किशोरलाई गोंगबुस्थित नयाँ बसपार्क नजिकको होटल फेमिलीमा राखिएको थियो। अपहरणकारीहरूले लगातार निगरानी र धम्की दिइरहेका बेला किशोरले साहसिक कदम चाले। शौचालय जाने बहाना बनाएर उनी भित्र पुगे र एउटा कागजमा आफू अपहरणमा परेको जानकारी लेखे।
चिर्कटोमा उनले आफ्नो नाम, ठेगाना, बुवाको सम्पर्क नम्बर उल्लेख गर्दै “म नारायणगढबाट अपहरणमा परेको छु, कृपया प्रहरीलाई खबर गरिदिनुहोस्” भनेर लेखेका थिए। त्यसपछि उनले उक्त कागज शौचालयबाट बाहिर फ्याँके।
संयोगवश उक्त चिर्कटो एक व्यक्तिको हातमा पुग्यो। उनले त्यसमा लेखिएको विवरणका आधारमा प्रहरी र किशोरका परिवारलाई खबर गरे। यही सूचनाले अनुसन्धानलाई थप स्पष्ट दिशा दिएको र उद्धार अभियान सहज बनेको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार चिर्कटोबाट प्राप्त सूचनाले अपहरणकारीहरूको लोकेशन पहिचान गर्न सहयोग पुगेको थियो। त्यसपछि प्रहरीले होटलमा पुगेर मंगलबार साँझ किशोरलाई सकुशल उद्धार गरेको हो।
उद्धारपछि किशोरले आफूलाई रकम नल्याए हत्या गर्ने धम्की दिइएको, घाँटीमा पटक–पटक चक्कु राखिएको र कुटपिटसमेत गरिएको बयान दिएका छन्।
घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एक जना युवक र गाडी चालक फरार रहेकाले खोजी जारी रहेको जनाएको छ। प्रहरीले यो घटना पूर्वयोजनाअनुसार फिरौती असुल्ने उद्देश्यले गरिएको अपहरण भएको निष्कर्ष निकालेको छ।







