Categories धर्म/संस्कृति

शहीदी दिवस विशेष : सत्य, सेवा र बलिदानका प्रतीक श्री गुरु अर्जन देव जी महाराज

Advertisement

(भनि मथुरा कहु भेदु नही गुरु अरजुन परतख्खय हरि
श्री गुरु अर्जन देव जी प्रत्यक्ष हरिका रुप हुन।)

सिख धर्मका पाँचौं गुरु श्री गुरु अर्जन देव जी महाराजको जन्म वि. स. वैशाख १९, १६२० (१५६३ अप्रिल १५) मा गोइंदवाल साहेब जिल्ला अमृतसरमा भएको थियो। उहाँका पिता श्री गुरु रामदास जी महाराज तथा माता भानी जी हुनु हुन्थ्यो। बाल्यकाल देखि नै उहाँ अत्यन्त शान्त, दयालु, विनम्र, धार्मिक तथा बुद्धिमान स्वभावका हुनु हुन्थ्यो।

Advertisement

उहाँलाई सानै देखि गुरुवाणी, सेवा, ध्यान तथा मानव प्रेममा विशेष रुचि थियो। गुरु घरानाको वातावरणले उहाँलाई आध्यात्मिकता र सेवा भावमा अझ गहिरो बनायो।
वि. स. आश्विन २, १६३८ ( सेप्टेंबर १, १५८१) मा श्री गुरु रामदास जी महाराज ज्योति ज्योत समाउनु भए पछि श्री गुरु अर्जन देव जी महाराज सिख धर्मका पाँचौं गुरुको रुपमा विराजमान हुनुभयो। उहाँको नेतृत्वमा सिख पन्थले संगठन, आध्यात्मिकता तथा सामाजिक सेवामा ठूलो उन्नति गर्यो।

Advertisement

आफु लगायत ५ गुरु साहेबानहरु तथा महापुरुषहरु को वाणी लाई संकलित गरी पोथी साहेब लाई आदि श्री गुरु ग्रन्थ साहेबको स्वरुपमा स्थापित गरे श्री गुरु अर्जन देव जी महाराजको सबै भन्दा महान तथा ऐतिहासिक कार्य आदि श्री गुरु ग्रन्थ साहेब जी को संकलन हो। (यसमा सबै भन्दा बढि वाणी श्री गुरु अर्जन देव जी महाराज कै छ)
त्यस समयमा धेरै ठाउँमा गुरुवाणीका गलत तथा अपूर्ण संस्करण फैलिन थालेका थिए। सत्य र शुद्ध वाणीलाई सुरक्षित राख्न श्री गुरु अर्जन देव जी महाराजले वि. स. १६६१ मा (सन् १६०४) आदि श्री ग्रन्थ साहेबको संकलन गरि यिन लाई आदि ग्रन्थको मान दिएर पठन पाठन को शुरुवात गर्नुभयो।

उहाँले केवल सिख गुरुहरुको वाणी मात्र होइन, हिन्दू तथा मुस्लिम सन्तहरुको वाणीलाई पनि समान सम्मानका साथ श्री ग्रन्थ साहेबजी मा शोभायमान गर्नुभयो। यसमा कबीर दास जी, भक्त रविदास जी, शेख फरीद साहेब लगायत विभिन्न महापुरुषहरु तथा सन्तहरु साहेबहरुका वाणी समावेश गरिएको छ।

यसले गुरु साहिबले सम्पूर्ण मानव जातिलाई एउटै प्रभुको सन्तान मानेको स्पष्ट देखाउँछ। हरमन्दिर साहिब (स्वर्ण मन्दिर) निर्माण श्री गुरु अर्जन देव जी महाराजले हरमन्दिर साहेबको निर्माण कार्य सम्पन्न गराउनुभयो। यस मन्दिरको विशेषता यसको चारवटा ढोका हो, जसले संसारका चारै दिशाबाट आउने सबै जाति, धर्म, वर्ग तथा समुदायका श्रद्धालुहरु लाई स्वागत गर्ने सन्देश दिन्छ।

हरमन्दिर साहेबलाई पृथ्वीको शान्ति, सेवा तथा समानताको केन्द्र मानिन्छ। सबै भन्दा भक्तालु, श्रद्धालु जम्मा हुने पवित्र स्थल मानिन्छ।

श्री गुरु अर्जन देव जी महाराजले “सुखमनी साहेब” नामक महान वाणीको रचना गर्नुभयो। “सुखमनी” को अर्थ “मनलाई शान्ति दिने अमृत” हो। यस बाणीमा प्रभु स्मरण, नम्रता, सेवा, सत्य जीवन, सन्तोष तथा मानव कल्याणको शिक्षा दिइएको छ। आज पनि लाखौं श्रद्धालु मानसिक शान्ति र आत्मिक बलका लागि सुखमनी साहेबको पाठ गर्छन्।

प्रथम गुरु श्री गुरु नानक देव जी महाराज द्वारा शुरु गरिएको तथा पछिका गुरुहरु द्वारा जारी राखिएको सेवा र लंगर परम्पराको विस्तार श्री गुरु अर्जन देव जी महाराजले लंगर परम्परालाई अझ सुदृढ बनाउँदै धनी-गरीब, राजा-रंक सबैलाई एउटै स्थानमा बसेर भोजन गर्ने व्यवस्था गर्नु भयो। उहाँले मानव सेवा नै सच्चा धर्म हो भन्ने शिक्षा दिनुभयो। गरीब, असहाय तथा दुःखी मानिसहरुको सेवा गर्न सधैं प्रेरणा दिनुभयो।

गुरु अर्जन देव जी महाराजले अमृतसर शहरलाई धार्मिक तथा सामाजिक केन्द्रको रुपमा विकास गर्न महत्वपूर्ण योगदान दिनुभयो। उहाँको समयमै अमृतसर सिख धर्मको प्रमुख केन्द्र बन्न पुग्यो।

सिख इतिहासमा श्री गुरु अर्जन देव जी महाराजको शहीदी अत्यन्त महत्वपूर्ण तथा भावुक घटना मानिन्छ। मुगल सम्राट जहांगीर लाई गुरु साहेबको बढ्दो प्रभाव मन परेन। उहाँलाई इस्लाम स्वीकार गर्न तथा गुरुवाणी परिवर्तन गर्न दबाब दिइयो, तर गुरु साहेब सत्य र धर्ममा अडिग रहनु भयो।

वि. स. १६६३, आषाढ २ ( सन् मइ ३०, १६०६ ) मा लाहौरमा उहाँलाई अमानवीय यातना दिइयो। तातो फलामको तावामा बसालियो, शरीर माथि तातो बालुवा खन्याइयो तथा उम्लिरहेको पानी हालियो। यति असह्य पीडामा पनि गुरु साहेबले कुनै क्रोध वा बदला व्यक्त गर्नुभएन।

उहाँले प्रभुको इच्छालाई स्वीकार गर्दै भन्नुभयो-

“तेरा किया मीठा लागे ।
हरि नाम पदारथ नानक मांगे ॥”
अर्थात्- “हे प्रभु! तपाईँले जे गर्नुहुन्छ, त्यो मलाई प्रिय लाग्छ। नानक केवल तपाईँको नामको वरदान माग्छ।”
अन्ततः उहाँले मानवता, धार्मिक स्वतन्त्रता तथा सत्यको रक्षा गर्दै शहीदी प्राप्त गर्नु भयो। उहाँ सिख इतिहासका प्रथम शहीद गुरु हुनुहुन्छ। उहाँले ३० रागहरुमा, २२१६ छन्द को रचना गर्नु भएको छ।

गुरु अर्जन देव जीका प्रसिद्ध शबद तथा शलोक

१. तेरा किया मीठा लागे ।
हरि नाम पदारथ नानक मांगे ॥
अर्थ
प्रभुको इच्छा सधैं मीठो र स्वीकार योग्य हुन्छ। मानिसले सधैं प्रभुको नामको धन माग्नु पर्छ।

२. सुखमनी सुख अमृत प्रभ नाम ।
भगत जना के मन बिस्राम ॥
अर्थ
प्रभुको नाम अमृत समान सुखदायी छ, जसले भक्तजनको मनलाई शान्ति प्रदान गर्दछ।

३. कोई बोले राम राम, कोई खुदाए ।
कोई सेवै गुसइआ, कोई अल्लाहे ॥
अर्थ
कसैले राम भन्छ, कसैले अल्लाह; तर सबैले एउटै परमात्मालाई पुकारिरहेका हुन्छन्।

४. थिरु घरि बैसो हरि जन प्यारे ।
सतिगुरि तुमरे काज सवारे ॥
अर्थ
हे प्रभुका प्रिय जनहरू! विश्वास र धैर्यमा अडिग रहनुहोस्, सत्गुरुले सबै कार्य सफल बनाउनुहुन्छ।

सत्यको ज्योति जलाउने गुरु,
प्रेम र सेवा सिकाउने गुरु।
दुःखमा पनि धैर्य नहार्ने,
मानवता खातिर जीवन वार्ने।

तातो तावा शरीरमाथि,
तर मनमा प्रभुको वास।
“तेरा भाणा मीठा लागे” भन्दै,
दिनुभयो संसारलाई प्रकाश।

हरिमन्दिरको ज्योति बालेर,
समानताको पाठ पढाउनुभयो।

आदि ग्रन्थको अमृत वाणीले,
सम्पूर्ण मानवता जोड्नु भयो।

शहीद भए तापनि आजसम्म,
नाम उहाँको अमर रह्यो।

श्री गुरु अर्जन देव जी महाराजको, सन्देशले संसार उज्यालो भयो श्री गुरु अर्जन देव जी महाराजको जीवनले हामीलाई धैर्य, नम्रता, सेवा, सहिष्णुता तथा सत्यको मार्गमा अडिग रहन प्रेरणा दिन्छ। उहाँले सिकाउनुभयो कि धर्म केवल पूजा होइन, मानवताको सेवा, समानता र प्रेम नै साँचो धर्म हो।
उहाँको शहीदी दिवस केवल सम्झनाको दिन होइन, सत्य, साहस तथा मानव सेवाको प्रेरणा लिने महान अवसर पनि हो।
शत् शत् नमन!

यस दिन लाई विश्व भरिको सिख समुदायले बर्षको सब भन्दा तातो दिन भनि ठान्दछन किन भने पाँचौ प्रिय गुरुदेवलाई अन्याय, अत्याचार तथा धर्म परिवर्तन को लागि अत्याधिक यातना दिएर शहिद गरिएको थियो । 

यस दिवसलाई शहीदी गुरु पूरब भनिन्छ, यसमा बधाई शुभकामना भनिन्दैन शत् शत् नमन! कोटि कोटि प्रणाम गरिन्छ।

विभिन्न देशहरुमा घर घरमा, श्री गुरुद्वारा साहेबहरुमा १ महिना श्री “सुखमनी साहेब” को पाठ गरिन्छ, महिनो दूधको चिसो शरबत, चना तथा लंगर प्रसाद वितरण गरिन्छ। मुख्य दिन भन्दा २ दिन अगाडि श्री गुरु ग्रंथ साहेब जी को ४८ घन्टा पाठ साहेब वाचन गरिन्छ। यसपाली यो दिवस आषाढ २, ३ तथा मुख्य ४ गते बिहीबार परेको छ। (१६, १७, १८ जून २०२६) स्थानीय गुरुद्वारा साहेबमा पनि यो कार्यक्रम ३ दिन श्री अखंड पाठ साहेब तथा अटुट लंगर साथ चल्ने गर्दछ।

जसपाल सिंह
श्रीपुर, बीरगंज

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *