Categories समाचार

गोली लागेर लागुऔषध कारोबारी पक्राउ

Advertisement

सिरहा । सिरहामा प्रहरीले लागुऔषध कारोबारविरुद्ध सञ्चालन गरेको विशेष अपरेसनका क्रममा एक कुख्यात कारोबारी गोली लागेर पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत–२ निवासी २८ वर्षीय छोटु भनिने रञ्जितकुमार पासवान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो गोलबजार शाखाको संयुक्त टोलीले सिरहा नगरपालिका–२१ लगडीगोठ क्षेत्रमा अपरेसन सञ्चालन गरेको थियो।

Advertisement

प्रहरीले पासवानलाई नियन्त्रणमा लिन खोज्दा उनले समूहसहित प्रहरीमाथि ढुंगामुढा गर्दै भारततर्फ भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर तथा एक राउन्ड गोली चलाएको थियो। गोली पासवानको पिँडुलामा लागेको प्रहरीले जनाएको छ। घटनामा ढुंगामुढाबाट एक प्रहरी जवान पनि घाइते भएका छन्।

Advertisement

पक्राउ परेका पासवान र एक नाबालकको साथबाट ९२ ग्राम ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। दुवै जनाको उपचार सिरहास्थित प्रादेशिक अस्पतालमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पासवान सिरहा क्षेत्रमा सक्रिय प्रमुख लागुऔषध कारोबारीमध्ये एक हुन्। उनले हालसम्म करिब ३ करोड रुपैयाँ बराबरको १० देखि १२ किलो ब्राउन सुगर बिक्री गरेको अनुमान गरिएको छ। साथै, नाबालकलाई प्रयोग गरी संगठित रूपमा लागुऔषध कारोबार सञ्चालन गर्दै आएको तथ्यसमेत अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *