वीरगंज । ट्राफिक सप्ताहको अन्तिम दिन बाराको गण्डक क्षेत्रमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको समन्वय तथा इलाका प्रहरी कार्यालय प्रसौनीको सहकार्यमा आयोजित कार्यक्रममा अस्थायी ट्राफिक पोस्ट गण्डकका इन्चार्ज ट्राफिक सहायक हवल्दार बलराम पटेलको नेतृत्व रहेको थियो।
कार्यक्रमअन्तर्गत स्थानीय विद्यालयका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षाका उपाय तथा सुरक्षित यात्रासम्बन्धी जानकारी प्रदान गरिएको थियो। साथै दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका चालक तथा यात्रुहरूलाई हेलमेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, मोबाइल फोन प्रयोग नगर्ने, क्षमताभन्दा बढी यात्रु नबोक्ने तथा ट्राफिक संकेतको पालना गर्नुपर्ने विषयमा सचेत गराइएको थियो।
ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र र आवश्यक कागजात साथमा राख्न, राजमार्गमा पैदल यात्रा गर्दा विशेष सावधानी अपनाउन, महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएका सिटको सम्मान गर्न तथा तोकिएभन्दा बढी भाडा असुलिएमा गुनासो गर्न सकिने अधिकारबारे समेत जानकारी दिएको थियो।
प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिने चेतावनी दिँदै सुरक्षित यात्रा र सभ्य यातायात संस्कृतिको विकासमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ।







