वीरगंज । देशका ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण फैलिएको पुष्टि भएपछि नियन्त्रणका लागि व्यापक अभियान सञ्चालन गरिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिएको छ भने ९ लाख ८९ हजार ३१३ वटा अण्डा र १ लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ।
विभागले बारा, महोत्तरी, झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा संक्रमण देखिएको जनाएको छ। संक्रमण फैलिन थालेपछि सर्वसाधारणमा कुखुराको मासु र अण्डा सेवनबारे चासो र चिन्ता बढेको छ।
प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एच–फाइभ एन–वान (H5N1), एच–नाइन एन–टु (H9N2) र न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको विभागले जनाएको छ। यद्यपि, कोशी प्रदेशमा भने पछिल्लो एक महिनायता संक्रमण नियन्त्रणमा ल्याउन सफल भएको दाबी गरिएको छ।
संक्रमण थप फैलिन नदिन सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेश सरकारसँग समन्वय गरेर नियन्त्रणात्मक गतिविधि तीव्र बनाएको छ। संक्रमित फार्मका सम्पूर्ण कुखुरा नष्ट गरी सुरक्षित व्यवस्थापन गर्ने काम जारी रहेको विभागले जनाएको छ।
त्यसैगरी, परीक्षणको दायरा बढाउन प्रयोगशालाहरू बिदाको दिनसमेत सञ्चालनमा ल्याइएको छ। सीमा नाका र क्वारेन्टाइन क्षेत्रमा निगरानी कडा पारिएको छ भने कुखुरा, अण्डा र दानाको ओसारपसारमा समेत विशेष निगरानी राखिएको छ।
अवैध रूपमा हुने पशुपन्छीको कारोबार रोक्न सुरक्षा निकायसँगको सहकार्यमा विशेष अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ। संक्रमण नियन्त्रण र जनस्वास्थ्य सुरक्षाका लागि सबै पक्षलाई सतर्क रहन विभागले आग्रह गरेको छ।


