वीरगन्ज । चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनमा भगवान् श्रीराम–लक्ष्मणसँग रवि लामिछाने र बालेन शाहको तुलना गरिएको भन्दै राष्ट्रिय बजरंग दल पर्सा र नेपाल विश्व हिन्दु महासंघ पर्साले आपत्ति जनाएका छन्।
दुवै संगठनले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्यले हिन्दुहरूको धार्मिक आस्थामा चोट पुगेको बताएका छन्।
ज्ञापनपत्रमा वीरगन्जका महबुब आलमसहित केही व्यक्तिले कावँरमा भगवान् श्रीराम–लक्ष्मणसँगै रवि लामिछाने र बालेन शाहको तस्वीर राखेर प्रदर्शन गरेको तथा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै त्यसको निन्दा गरिएको छ।
संगठनहरूले सम्बन्धित व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् भने यस्ता गतिविधि दोहोरिए कानुनी र आन्दोलनात्मक कदम चाल्ने चेतावनी दिएका छन्।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्ने विषयलाई गम्भीरतापूर्वक लिइने बताएका छन्।


